आश्विन ३, २०७३- चाडपर्व नजिकिएकाले दैनिक उपभोग्य वस्तु र लत्ताकपडाको आयात बढेपछि वीरगन्जका दुवै भन्सार कार्यालयले भदौ महिनाको राजस्व असुली लक्ष्य भेटाएका छन् । वीरगन्ज र सिर्सिया सुख्खा बन्दरगाह भन्सारले भदौमा लक्ष्य पूरा गरेका हुन् । वीरगन्जले करिब ६ र सिर्सियाले करिब ४ प्रतिशत बढी राजस्व संकलन गरेका छन् ।
यस महिनामा ९ अर्ब ९ करोड १७ लाख रुपैयाँ असुली लक्ष्य रहेको भन्सारले ९ अर्ब ५६ करोड ६३ लाख संकलन गरेको कार्यालयका सूचना अधिकृत लोकराज पन्तले जानकारी दिए । चालू आर्थिक वर्षमा साउन र भदौ महिनामा गरी भन्सारले १७ अर्ब २१ करोड ९१ लाख रुपैयाँ राजस्व संकलन गरिसकेको छ । यी २ महिनामा गरी १६ अर्ब ७१ करोड ५४ लाख रुपैयाँ राजस्व संकलन गर्ने भन्सारको लक्ष्य थियो । ‘चाडपर्व नजिकिएकाले स्वाभाविक रूपमा यी महिनामा उत्साहजनक रूपमा राजस्व संकलन हुन्छन्,’ पन्तले भने, ‘नयाँ सवारी साधन, इन्धन, विद्युतीय उपकरण, दैनिक उपभोग्य वस्तु, ड्राइ फ्रुट्स आदिको आयात यी महिनामा तुलनात्मक रूपमा बढ्छन् ।’
चालू आर्थिक वर्षको पहिलो २ महिनामा संकलन भएकै अनुपातमा राजस्व संकलन भइरहे वार्षिक राजस्व असुली लक्ष्य भेटाउन गाह्रो नहुने पन्तले बताए । यो कार्यालयको चालू आवका लागि १ खर्ब ७ अर्ब रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेको छ । यो गत आवको भन्दा ३३ प्रतिशतले बढी हो । गत आवमा यो भन्सारले ७१ अर्ब ८६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य रहेकामा ५६ अर्ब ८० करोड रुपैयाँ राजस्व संकलन गरेको थियो । गत वर्ष बन्द हडतालको अवधिमा यो भन्सारको कामकाज करिब ६ महिना प्रभावित भएपछि यसबाट करिब ४५ अर्ब रुपैयाँ राजस्व घाटा रह्यो ।
सिर्सिया बन्दरगाहले यस महिनामा १ अर्ब ९० करोड राजस्व संकलनको लक्ष्य लिएको थियो । कार्यालयका सूचना अधिकृत हरिहर पौडेलका अनुसार १ अर्ब ९८ करोड रुपैयाँ राजस्व संकलन भइसकेको छ । साउन महिनामा १ अर्ब ६१ करोड रुपैयाँ संकलन भएको थियो ।
यस महिनाका लागि १ अर्ब ५१ करोड रुपैयाँको लक्ष्य थियो । चालू आवमा यो भन्सारबाट २३ अर्ब ७६ करोड रुपैयाँ राजस्व संकलनको लक्ष्य छ । गत आवमा १७ अर्ब १४ करोड रुपैयाँ लक्ष्य रहेकामा १७ अर्ब १९ करोड रुपैयाँ संकलन भएको थियो । फलाम उद्योगका कच्चा पदार्थ, गेडागुडी, मदिरा, औद्योगिक कच्चा पदार्थ, इलेक्ट्रोनिक उपकरण आदि यो बन्दरगाहबाट बढी आयात हुन्छन् । गत वर्षको बन्द हडतालको बढी प्रभाव वीरगन्ज कार्यालयमा परे पनि यो बन्दरगाहमा भने कम परेको थियो ।
Comments
Post a Comment