भूमिगत शैलीमा चन्द माओवादी बैठक



भाद्र २९, २०७३- नेक्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीले आफ्ना गतिविधिलाई भूमिगत शैलीमा अघि सारेको छ ।
पार्टी महासचिव चन्दको उपस्थितिमा लमजुङको पूर्वी क्षेत्रमा मंगलबार पश्चिमाञ्चलस्तरीय ‘सेक्रेटरीय ग्यादरिङ’ गरिएको थियो । स्रोतका अनुसार उक्त बैठकमा पश्चिमाञ्चल क्षेत्रको विभिन्न जिल्लामा रहेका पार्टी सेक्रेटरीको उपस्थिति रहेको थियो ।
बैठकमा केन्द्रीय सदस्य एवं गण्डकी उपब्यूरो प्रमुख सावित्री दुरा लगायतको उपस्थिति थियो । पार्टीले लिएको अर्धभूमिगत रणनीतिलाई पश्चिमाञ्चल र गण्डक क्षेत्रमा कसरी प्रभावकारी बनाउन सकिन्छ भन्नेमा बैठक केन्द्रीत रहेको स्रोतले बतायो । ‘सकेसम्म हाम्रा गतिविधि अरुले जानकारी नपाउन’ चन्दलाई उद्दृत गर्दै स्रोतले भन्यो ।
भूमिगत शैलीमा आएका उनले जनवादी क्रान्तिलाई ‘प्रचण्ड’ले धोका दिएको र पूरा गर्ने अविभारा आफ्नो काँधमा आएको बताएका थिए । संसदीय राज्यव्यवस्था बाँडेर खानेका लागिमात्रै रहेको र जनवादी क्रान्तिपछि सवै सत्ता जनताको हातमा पर्ने उनले बताएका थिए ।
‘जनवादी क्रान्तिमा हामी आशाबादी हुनुपर्छ,’ उनले भने । मोहन बैद्यले अघि सारेको जनयुद्धको जगमा जनविद्रोह नीति पनि असफल हुने उनले टिप्पणी गरेका थिए । उनले भ्रष्टाचार, बेथिति र अराजकता नियन्त्रण गर्ने अभियानबारे समेत छलफल गरेका थिए ।
चन्द नेतृत्वको नेकपा माओवादीका लमजुङ सेक्रेटरी अबिरल न्यौपानेले बैठक भएको स्वीकारे । ‘यो हाम्रो आन्तरिक बैठक हो । राम्रै उपस्थिति थियो । केही साथीहरु आएनन्’ उनले टेलिफोनमा भने । उनका अनुसार पार्टी महासचिव चन्दले बैठकलाई सम्बोधन गरेका थिए । बैठकस्थल र सहभागिबारे उनले भन्न चाहेनन् ।
तत्कालीन माओवादी जनयुद्धका बेला लमजुङको पूर्वी क्षेत्रलाई ‘सुरक्षित’ भनी उक्त ठाउँमा शैन्य गतिविधि संचालन गरिएको थियो । बैठकमा आगामी पार्टी महाधिवेशनबारे पनि छलफल गरिएको थियो । स्रोतका अनुसार चन्द नेतृत्वको नेकपा माओवादीको महाधिवेशन फागुन १ गते काठमाडौंमा हुँदै छ । काठमाडौंमा खुल्ला सत्र हुने र रोल्पाको थवाङमा बन्दसत्र हुने एक सदस्यले बताए ।
यसअघि चन्दले जनसत्ता, सेना र भूमिगत कार्यशैली अपनाउने नीति लिँदै उनले काठमाडौं बाहिर रहने योजना बनाएको सार्वजनिक भएको थियो ।


Comments