भाद्र २९, २०७३- हिन्दु नारीले मनाउने तीज पर्व भर्खरै सकिएको छ। स्वदेशमा यसको रमझम मज्जैले देखिएको थियो। अमेरिकामा रहेका नेपाली अभिनेत्रीहरूका फेसबुक वाल पनि भेटघाट र नाचगान गरेर तीज मनाएका तस्बिरले भरिए। रंगीबिरंगी पहिरन र गरगहनाले सजिएको तस्बिर इन्स्टाग्राममा समेत राखेका उनीहरू प्रवासमै स्थानीय माहोल बनाइरहेका देखिन्छन्। कुनै बेलाकी चर्चित नायिका पूजा चन्दको घरमा ऋचा घिमिरे, अरुणिमा लम्साल र उषा पौडेलले दर खाएका थिए।
छोरा मिजास जन्मिएपछि निर्देशक श्रीमान् शंकर घिमिरेसहित अमेरिका गएकी ऋचाले उतै अर्को सन्तान पनि जन्माइन्। दुई छोराका जन्मदिन, होली र दसैंतिहारमा उनले फिल्म क्षेत्रका आफ्ना पुराना सहकर्मीलाई घरमा निम्त्याउने गरेकी छन्। कान्छा छोरा महर्षिको न्वारानमा अभिनेत्री उषा, अरुणिमा र सारंगा श्रेष्ठसँगै मोडल विमलेश अधिकारी पनि मेरिल्यान्डस्थित ऋचाको घरमा पुगेका थिए। अघिल्लो दसैंमा उनकै आमाले गायिका निशा सुनार, अभिनेता दिलीप रायमाझी, मुकेश ढकाल, निर्देशक श्याम भट्टराई, सुरेश दर्पण पोखरेल आदिलाई टीका लगाइदिएकी थिइन्।
‘वीरताको चिनो’, ‘अल्झेछ क्यारे पछ्यौरी’, ‘छोडी गए पाप लाग्ला’, ‘ब्रेकफेल’ जस्ता फिल्ममा मुख्य अभिनेत्रीका रूपमा देखिएकी ऋचा फिल्म छोडेर अमेरिका गएकी थिइन्। हाल उनी पहिलेजस्तो स्लिम नभए पनि उतै आयोजना हुने कार्यक्रममा फेसनेबल गेटअपमा देखिइरहेकी हुन्छिन्। ऋचाकै सहकर्मी उषा पनि केही समय भारतीय टेलिशृंखलामा अभिनय गरेपछि अमेरिका हानिइनन्। एन्जल्स ब्यान्डका गायक राजु लामासँग विवाह गरेकी अभिनेत्री पूजा बाल्टिमोरमै ‘क्याच पेनी’ नामको बुटिक चलाएर बसेकी छन्।
जल शाह, कृष्टि मैनाली, रञ्जना शर्मा र युना उप्रेतीले पनि अमेरिकामा दिन बिताउन थालेको लामै भइसक्यो। उनीहरू फिल्म क्षेत्रबाट लगभग पलायन भइसकेका छन्। यद्यपि, आफ्ना सहकर्मी र कार्यक्रमका लागि नेपालबाट त्यहाँ पुगेकाहरूलाई राम्रो अतिथि संस्कार गरिरहेका हुन्छन्। अमेरिकाको चर्को कार्यव्यस्ततालाई थाती राख्दै उनीहरू बेलाबेला जमघटमा जुट्ने गरेका छन्। सामाजिक सञ्जालमा पनि सक्रिय उनीहरू प्राय: घुमफिर गरेको, साथीभाइसँगको भेटघाट वा आफ्ना सन्तानसँग खिचेका तस्बिर सेयर गरिरहेका हुन्छन्। ‘निरमाया’, ‘सिन्दुर पोते’ जस्ता फिल्म खेलेकी र विशेषगरी बेजोड नृत्यका लागि कहलिएकी अभिनेत्री सारंगाले यही साता पोस्ट गरेको सूर्यमुखी फूलको खेतमा खिचेको तस्बिरमा सयौंले लाइक गरेका छन्। उनको छोरीको तस्बिरमा अभिनेत्री जल शाहले स्टिकर पोस्ट गरेकी छन्।
भदौ २३ मा निर्देशक श्याम भट्टराईको जन्मदिन पारी मेरिल्यान्डवासी नेपाली कलाकार टोलीले जन्मघटको मेसो मिलाएका थिए। उक्त दिन ‘साँघुरो’ निर्देशक जोयश पाण्डे पनि टोलीमा सहभागी भए। अभिनेत्री अरुणिमाको फेसबुक टाइमलाइनमा बर्थ डे पार्टीका मनग्गे तस्बिर देख्न सकिन्छ भने निर्देशक सुरेशदर्पणले भिडियो नै सेयर गरेका छन्। न्युयोर्कमा बस्ने अभिनेत्री रञ्जनाको फेसबुक वाल भने भदौ २५ देखि ‘हयाप्पी बर्थ डे’ लेखिएका स्टाटसले भरिएको छ।
‘पर्खि बसेँ’, ‘फ्लासब्याक’, ‘पहिलो पहिलो माया’ जस्ता फिल्मकी अभिनेत्री युना उप्रेती टेक्सासमै घरजम गरेर बसिरहेकी छन्। उनी प्राय आफू एक्लैका तस्बिर पोस्ट गरिरहेकी हुन्छिन् भने अभिनेत्री जल शाह फेसबुक उति चलाउँदिनन्। उनको ‘मलाई तेजस्वी हुन कसैको अनुमति चाहिँदैन’ लेखिएको तस्बिरलाई कभर पिक्चर बनाएकी छन् र एल्बममा खासै तस्बिर राखेकी छैनन्।
http://kantipur.ekantipur.com/news/2016-09-14/20160914083225.html
Comments
Post a Comment