भाद्र २५, २०७३- वाणिज्य बैंकहरूले सय ग्रामसम्मका टुक्रा सुन आयात गर्न पाउने भएका छन् । आयातका लागि वाणिज्य मन्त्रालयले अनुमति दिएपछि टुक्रा सुन ल्याउन बाटो खुलेको हो । हाल वाणिज्य बैंकहरूले सुन किलोमा आयात गरी सोहीअनुसार बिक्री गर्छन् ।
तर, सबै गहना व्यवसायीले किलोमा किन्न सक्दैनन् । ठूलो परिमाणमा किन्न नसक्दा केही व्यवसायीहरू तस्करीका सुनतर्फ आकर्षित भएका थिए । अवैध रूपमा भित्रिएको सुनले बैंकको बिक्न छाडेपछि बिक्री वितरण सहज बनाउन सरोकारवाला निकायबीच बैंकले एक सय ग्रामको सुन ल्याउन पाउने सहमति गरेका थिए ।
एक महिनाअघि राष्ट्र बैंक, राजस्व अनुसन्धान विभाग, भन्सार विभाग र गहना व्यवसायीबीच भएको छलफलमा यस्तो सहमति भएको थियो । सोहीअनुसार राष्ट्र बैंकले आयात अनुमतिका लागि मन्त्रालयमा पत्रचार गरेको थियो । सोहीअनुसार मन्त्रालयले निर्णय गरेर शुक्रबार राष्ट्र बैंकलाई पठाएको हो । ‘टुक्रा सुन आयातबारे मन्त्रीबाटै स्वीकृत गर्नुपर्ने भएकाले निर्णय गर्न केही ढिलाइ भएको थियो ।
आयातसम्बन्धी दुई दिनअघि निर्णय भएको थियो,’ मन्त्रालयका सहसचिव तथा प्रवक्ता रविशंकर सौजुले भने, ‘निर्णय शुक्रबार राष्ट्र बैंकमा पत्र पठाएका छौं ।’ बैंकहरूले १ सय ग्राम, २ सय ग्राम, ५ सय ग्राम र एक किलोको परिमाणमा मात्रै ल्याउन पाउने उनले बताए । सानो परिमाणमा सुन आयात गर्दा केही महँगो पर्न सक्छ । सुन टुक्राउनुपर्ने, मसिनो बनाउनुगर्ने हुँदा मूल्यमा सामान्य वृद्धि हुने जानकारहरू बताउँछन् ।
राष्ट्र बैंकका विदेशी विनिमय विभाग प्रमुख भीष्मराज ढुंगानाले मन्त्रालयको निर्णय बोर्ड बैठकले पारित गरेर सबै वाणिज्य बैंकलाई आयातका लागि सर्कुलर जारी गरिने बताए । ‘मन्त्रालयले आयातका लागि निर्णय गरेको खबर सुनेको छु तर पत्र प्राप्त गरिसकेको छैन,’ उनले भने, ‘पत्र प्राप्त भएपछि बोर्डले पारित गर्छ । त्यसपश्चात वाणिज्य बैंकले सय ग्रामका सुन पनि आयात गर्छन् ।’
हाल वाणिज्य बैंकले मात्रै सुन आयात गर्न पाउँछन् । वाणिज्य बैंकले पालैपालो गरी दैनिक १५ किलो सुन आयात गर्न पाउँछन् । उनीहरूले दक्षिण अफ्रिका, संयुक्त अरब इमिरेट्स (यूएई), हङकङ, स्विटजरल्यान्ड लगायतका मुलुकबाट सुन आयात गर्दै आएका छन् । आयातित सुन सुनचाँदी व्यवसायी महासंघ, सुनचाँदी कला व्यवसायी संघ र सुनचाँदी रत्न तथा आभूषण महासंघको सिफिरिसमा बैंकले गहना व्यवसायीलाई वितरण गर्दै आएका छन् ।
बैंकले आयात गरेको सुन किलोमा बिक्री हुन्छ । तर, सबै व्यवसायीले किलोमा किन्न सक्दैनन् । टुक्रा सुन आयात हुँदा सबैको पहुँचमा हुने व्यवसायीहरू बताउँछन् ।
‘बैंकबाट किलोमै किन्नुपर्ने बाध्यता थियो । धेरै परिमाण किन्न नसक्ने व्यवसायीहरू अन्यत्रबाटै माग धानिरहेका थिए । जसले गर्दा बैंकमा सुन थन्किने गरेको थियो,’ सुनचाँदी रत्न तथा आभूषण महासंघका अध्यक्ष रमेश महर्जनले भने, ‘बैंकले टुक्रा सुन आयात गर्दा गहना व्यवसायीलाई धेरै सहज हुन्छ । साना व्यवसायीले थोरै परिमाणमा पनि किन्न सक्छन् । अब बैंकमा सुन थन्किँदैन ।’
व्यवसायीका अनुसार मुलुकभरि २२ हजार सुन पसल छन् । तर, ५ सयसँग पनि बैंकमा गएर किलोमा सुन किन्न सक्ने क्षमता छैन । ‘२४/२५ जना व्यवसायीले संयुक्त रूपमा कम्पनी दर्ता गरेर बैंकबाट सुन किन्नुपर्ने बाध्यता छ,’ सुनचाँदी व्यवसायी महासंघका पूर्वअध्यक्ष तेजरत्न शाक्यले भने, ‘टुक्रा सुन आयात हुँदा सबै व्यवसायीको पहुँचमा हुन्छ ।’ राष्ट्र बैंकका अनुसार साउन महिनामा ३ सय ७१ किलो सुन बैंकमा थन्किएको थियो । अहिले चाडपर्वको सिजन भएकाले बैंकको सुन उठ्न थालेको छ । हाल सुनको दैनिक कोटा १५ किलो हो । चाडवाड नजिकिएपछि व्यवसायीले दैनिक कोटा २० किलो पुर्याउनुपर्ने दबाब दिन्छन् ।
Comments
Post a Comment