वैद्य माओवादी अब ‘चुनावमा’
भाद्र २८, २०७३- तीन वर्षअघि संविधानसभा चुनाव बहिष्कार गरेको मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) ले चुनावमा भाग लिने भएको छ । आफ्नो दल निर्वाचन आयोगमा भने दर्ता नगर्ने उसको जिकिर कायमै छ । देशभक्त जनगणतान्त्रिक मोर्चाका नाममा चुनावमा भाग लिने तयारीमा पार्टी लागेको हो ।
वैद्य माओवादीका वरिष्ठ नेता सीपी गजुरेल अध्यक्ष र परी थापा सचिव रहेको देशभक्त जनगणतान्त्रिक मोर्चाका पदाधिकारीमा कमल चौधरी, केबी गुरुङ, पवनमान श्रेष्ठ, श्रीनाथ अधिकारी, नगेन्द्र राई, केसबहादुर परियार सदस्य छन् । यी सबै वैद्य माओवादीका केन्द्रीय समितिमा रहेका नेता भएको मोर्चा अध्यक्ष गजुरेलले कान्तिपुरलाई बताए । गजुरेलले निर्वाचन घोषणा भएमा त्यसलाई उपयोग गर्दै अघि बढ्ने बताए । ‘हाम्रो पार्टी निर्वाचन आयोगमा दर्ता हुँदैन, पार्टीको नाममा निर्वाचनमा जाने निर्णय पनि छैन,’ उनले भने, ‘तर चुनाव घोषणा भएको परिस्थितिमा भने मोर्चाका नाममा निर्वाचनमा भाग लिने निर्णय हाम्रो हो ।’
गजुरेलले महँगी, कालोबजारी, भ्रष्टाचार, बेरोजगारी मुद्दा उठाउने बताए । उनले राष्ट्रवादी उभार ल्याउन काम गर्ने घोषणा गर्दै जनजीविकाको मुद्दा उठाइरहने मोर्चाको लक्ष्य रहेको बताए । मोर्चालाई पार्टी संगठनकै संरचनामा उभ्याउने वैद्य माओवादीको तयारी छ । केन्द्रदेखि गाउँसम्मै चुनावी संरचना बनाए पनि आगामी चुनावमा भाग लिने कि नलिने भन्ने निर्णय त्यही बेला लिने गजुरेलले बताए । ‘यो विषय विल्कुलै कार्यनीतिक प्रश्न हो, चुनावमा प्रभावकारी उपस्थिति जनाउन मोर्चालाई निर्वाचन आयोगमा दर्ता गर्न लागेका हौं,’ उनले भने, ‘हामीले भनेजस्तो भएन भने बहिष्कार गर्नलाई पनि यो संरचना काम लाग्नेछ ।’
वैद्य माओवादी महासचिव रामबहादुर थापासहित बहुमत हिस्सा माओवादी केन्द्रमा फर्केपछि पार्टी अस्तित्व रक्षाको संकटमा छ । वैद्य माओवादीकै प्रभावशाली नेता नेत्रविक्रम चन्दले युवाको उल्लेख्य पंक्ति आफूसित लिएर यसअघि नै अर्को पार्टी गठन गरिसकेका छन् । बचेका नेता कार्यकर्ता अझै दायाँबायाँ लाग्न सक्ने आकलन गरेर नेतृत्वले मोर्चाको विकल्प अघि सारेको पार्टी पंक्तिको विश्लेषण छ । तर गजुरेलले भने ‘पार्टी छोडेर जानेहरू अरू नै कारणले गएका’ भन्दै त्यसमा सैद्धान्तिक वैचारिक कारण नभएको बताए ।
http://bit.ly/2cUzP9T
Comments
Post a Comment