भाद्र २९, २०७३-
काठमाडौं नयाँबजार बस्ने २८ वर्षीय विवेचत प्रजापति सानी आमासँग बस्दै आएका थिए । लागूऔषध दुव्र्यसनमा फसेका अभिभावकविहीन प्रजापति नयाँबजारका लोकल डनसँगको संगत सँगै दिनेश अधिकारी चरी, कुमार घैंटे हुँदै चक्रे मिलनसम्मको संगतमा पुगे पनि उनको कुनै आपराधिक रेकर्ड भने थिएन ।
साउन ३२ मा महानगरीय प्रहरी अपराध महाशाखाले पक्राउ गरेपछि उनको पहिचान बन्यो हिटम्यान (पैसा लिएर आक्रमण गर्ने) । रोज राणा भनिने सरोज थापामाथि सांघातिक आक्रमण गरेको अभियोगमा पक्राउ परेका प्रजापति अहिले महानगरीय प्रहरी परिसर काठमाडौंको हिरासतमा छन् । उनको आक्रमणबाट घाइते भएका रोज ग्रान्डी अस्पतालमा हातको घाउको उपचार गराएर घर फर्किसकेका छन् ।
अनुसन्धानमा रोज र प्रजापतिबीच कुनै दुस्मनी देखिएन । दुस्मनी थियो—
जोधा भनिने रत्नबहादुर लामा र रोजबीच । यी दुईको दुस्मनीको बीचमा प्रवेश गरेका
थिए प्रजापति ‘भाडाको अपराधी’का रूपमा ।
रोजसँग बदला लिन जोधाले उनलाई ३० लाखको कन्ट्रयाक्ट दिएका थिए । काम थियो रोजको एउटा हात छिनाल्ने । ८० हजार पेस्की लिएर कन्ट्रयाक्टअनुसार काम गर्न अर्का सहयोगी सूर्य लामाका साथ उनले ३१ गते बेलुका ७ बजे मध्यबानेश्वरमा रोजमाथि आक्रमण गरेका थिए । यद्यपि प्रजापति कन्ट्रयाक्टअनुसारको जिम्मेवारी पूरा गर्न असफल भए । रोजको हात छिनेन उनी गम्भीर घाइते मात्र भए ।
.................
२०७० साउन २ मा सिराहाको सिक्रौन–७ का गुरुशरण साहको हत्या भयो । रामनगर मिर्चैयामा व्यापारीको पहिचान बनाएका साहको आफ्नै घरमा सुतिरहेको अवस्थामा बेलुका ११ बजे
धारिलो हतियारले हानेर हत्या गरिएको थियो । हत्या अनुसन्धानमा खटिएको सिराहा प्रहरीले उनको हत्याको योजनाकार उनकै श्रीमती चन्दरदेवी साह तथा सतदेव यादव भएको पत्ता लगायो अनि हत्यामा संलग्न देखिए भारतीय कन्ट्रयाक्ट किलर । अनुसन्धानका क्रममा गुरुशरणकी कान्छी श्रीमती चन्दरदेवीले आफ्ना प्रेमी सतदेवसँग मिलेर भारतीय अपराधीलाई २ लाखमा आफ्नो श्रीमान्को हत्याको ठेक्का दिएको रहस्य खुल्यो ।
पक्राउपछि चन्दरदेवीले प्रहरीमा दिएको बयानअनुसार सतदेव र गुरुशरण साथी हुन् । घर आउजाउका क्रममा चन्दर देवीको आफ्नै श्रीमानका साथीसँग प्रेम भयो । उनीहरूको सम्बन्ध झांगिएको १५ वर्षपछि श्रीमान्ले चन्दरलाई सतदेवसँगको सम्बन्ध तोड्न दबाब दिए । त्यसपछि उनीहरूले २५ हजार रुपैयाँ बैना दिँदै भारतीय अपराधीलाई गुरुशरणको हत्या गर्ने
जिम्मेवारी सुम्पिए । कन्ट्रयाक्टअनुसार भारतीय नागरिक सिराहा आएर गुरुशरणको हत्या गरी
भारत फर्किए ।
जिम्मेवारी सुम्पिए । कन्ट्रयाक्टअनुसार भारतीय नागरिक सिराहा आएर गुरुशरणको हत्या गरी
भारत फर्किए ।
...............
भारतको मुम्बई, दिल्ली, लखनउ हुँदै नेपाल प्रवेश गरेको व्यवसायिक अपराधको डरलाग्दो स्वरूप कन्ट्रयाक्ट किलिङ सबैभन्दा पहिले नेपालको तराई क्षेत्रमा प्रयोगमा आयो । तराईमा फैलिएको सीमावर्ती क्षेत्रका भारतीय अपराधीलाई ठेक्का दिएर आफ्ना प्रतिपर्धी सिध्याउने यो खेल अहिले अन्य भू–भागसम्म पुगिसकेको छ ।
भारतीय शहरबाट विस्तारित हुँदै नेपालको तराई छिरेको अपराधको यो डरलाग्दो शैली अहिले काठमाडौंमा पनि भित्रिसकेको छ । भारतीय क्षेत्रका व्यवसायिक अपराधीलाई ‘सुपारी’ दिएर हत्या गराउने यो शैली संगठित अपराधमा मात्र होइन, घरेलु झगडामा समेत प्रवेश गरिसकेको छ ।
काठमाडौंमा कन्ट्याक्ट किलिङको प्रयोग कुन तहसम्म भएको छ, छोरी र बाबुको यो घटनाले पुष्टि गर्छ :
२०७२ माघ २१ मा
काठमाडौंको टोखाको निर्माणाधीन पुलनजिकै एक अधबैंसे व्यक्तिको शव फेला पर्यो । स्थानीय बासिन्दाले शव देखेपछि प्रहरीलाई खबर गरे । शवको घाँटी, टाउको, निधार, हात र छातीमा धारिलो हतियार प्रहार भएको देखिएपछि घटनास्थलको अवलोकनकै आधारमा प्रहरी ती अधबैसे पुरुषको हत्या भएको निष्कर्षमा पुग्यो र अनुसन्धान अगाडि बढायो । सोधखोज गर्दै जाँदा मृतक त्यहीका बासिन्दा माइला महर्जन भएको थाहा भयो । प्रहरीले घटनास्थलको मुचुल्कापछि शव पोस्टमार्टमका लागि शिक्षण अस्पताल महाराजगन्ज पठाएर घटनाको अनुसन्धान थाल्यो ।
महर्जन घटनाको अघिल्लो दिन साँझ ६:३० तिर घरबाट निस्किएका थिए । उनको मोबाइलको कल रेकर्ड हेर्दा अन्तिम सम्पर्क उनकी २० वर्षीया छोरी संगीता पाण्डेसँग भएको देखियो । अनुसन्धानका क्रममा संगीताले परिवारको सहमतिबेगर २ वर्षअघि अन्तर्जातीय विवाह गरेको देखिएपछि प्रहरीले आफ्नो खोजतला संगीतातिरै केन्द्रित गर्यो ।
संगीता बाबुको मृत्युको शोकमा थिइन् । शंकाको भरमा यस्तो अवस्थामा थप चोट दिन चाहेन प्रहरीले र सामान्य सोधपुछ मात्र गर्यो, तर आशंका भने हटिसकेको थिएन । प्रहरी माइलाको १३ दिनको काम सकिने प्रतीक्षामा थियो ।
सूक्ष्म रूपमा अनुसन्धानमा खटिएको प्रहरी टोलीले बाबुछोरीबीच पैसाको विषयमा विवाद भएको सुइको पायो । ब्युटिसियनको कोर्ष गरेकी संगीता आफ्नै ब्युटिपार्लर खोल्न चाहन्थिन् । श्रीमान्को आर्थिक हैसियत ब्युटीपार्लर खोलिदिन सक्ने नभएपछि उनी माइतीको शरणमा पुगेकी थिइन् ।
विवाह नगर भन्दाभन्दै भागे पनि माइतीपक्षले विस्तारै उनलाई स्वीकार गरिसकेको थियो । बाबुले जग्गा बेचेर भए पनि पैसा दिउँला त भने तर दिएनन् त्यसैले बाबु–छोरीबीच ठास्सठुस्स चलिरहेको थियो । प्रहरीको अनुसन्धान संगीता वरिपरि घुमे पनि सामान्य विवादमै छोरीले बाबुको हत्या गरिन् होला र ? प्रहरीमा आशंका कायमै थियो ।
‘सुरुमा त आफ्नी छोरीले बाबुलाई मार्न यत्तिसम्म गर्न सक्छिन् र भन्ने लाग्यो,’ महाशाखा प्रमुख सर्वेन्द्र खनालले भने, ‘उनलाई दोस्रो पटक नियन्त्रणमा लिएर सोधपुछ गर्दा सबै कुरा सहजै स्वीकार गरेपछि हामी पनि छक्क पर्यौं ।’
माइला हत्यासम्बन्धी प्रहरी अनुसन्धान विवरणअनुसार ब्युटिपार्लर खोल्न ४ लाख नदिएपछि माइतीको सम्पत्ति हडप्न उनले एक समूहलाई १० लाखमा माइतीका सबै सदस्यको हत्याको कन्ट्रयाक्ट दिएकी थिइन् । कन्ट्रयाक्ट पाउनेहरूको जिम्मा थियो— उनका बाबु, आमा अनि दाइको समेत हत्या । परिवारका सबै सदस्यको मृत्युपछि टोखास्थित माइतीको सबै सम्पत्ति आफ्नो हुने भएकाले संगीताले यति क्रूर आपराधिक योजना बनाएको बताइन्छ ।
संगीताले माइतीका सबैको हत्याको कन्ट्रयाक्ट दिएकी थिइन्– विक्रम तामाङलाई । तामाङले आफूसँग यो कामका लागि साथीहरू भएकाले तीनै जनाको हत्या गर्न सक्ने दाबी गर्दै ५० लाख मागेका थिए । बार्गेनिङ चल्दै जाँदा १० लाखमा डिल फाइनल भयो । योजनाअनुसार माघ २० मा संगीताले नै माइलालाई टोखाको स्टारटाउन नजिकै बोलाइन् । तामाङसँगै रहेका सूर्य रानामगर, धनकुमार तामाङ, हरि तामाङ र सन्तोष थापामगर मिलेर ह्याम्मर, खुकुरी र चक्कुले माइलामाथि अन्धाधुन्ध प्रहार गरे ।
माइला कराएपछि विक्रमलगायतका आक्रमणकारीहरू भागे । उनीहरू भाग्दा माइला चलमलाइरहेका थिए । संगीता आफैंले ह्याम्मरले हानेर बाबुको चलमलाएको शरीरलाई शान्त बनाइन् । उक्त घटनामा यो प्रकृतिको अपराधको अनुभव नभएका सिकारुहरूको प्रयोग भएकाले उनीहरू पहिलो हत्यामै डराउँदा संगिताका आमा र दाजुको ज्यान जोगिएको थियो । संगीता बाबुको किरियाकर्म सकिएपछि दाइ र आमाको हत्याको ठेक्का लिनेहरूको खोजीमा लागेकै बेला पक्राउ परिन् ।
अवैध हतियार, लागूऔषध कारोबार तथा असुलीमा संलग्न ग्याङस्टारहरूले आफ्ना प्रतिस्पर्धी एवं दुस्मनको सफायामा प्रयोग गरिने अपराधको मोडल घरेलु समस्यामा प्रयोग हुनुलाई प्रहरी अधिकारीहरू समाज र जीवनशैलीमा देखिइरहेको द्वन्द्वलाई कारक बताउँछन् । इन्टरनेट तथा टेलिभिजनको सहज पहुँचका कारण सामान्य दुस्मनीमा पनि गम्भीर प्रकृतिको आपराधिक मोडल प्रयोग भएको उनीहरूको ठम्याइ छ ।
एसएसपी सर्वेन्द्र खनाल कन्ट्रयाक्ट किलिङलाई अपराधको व्यापारीकरणको गम्भीर रूप बताउँछन् । संगठित प्रकृतिको अपराधमा संलग्न र घरेलु प्रकृतिको विवादमा प्रयोग भएका कन्ट्रयाक्ट किलर अर्को अपराधमा प्रयोग हुनुअघि नै पक्राउ पर्ने गरेकाले यसले गम्भीर स्वरूप लिन नसकेको खनालको विश्लेषण छ । ‘यसको जरो तराईतिर देखिएको थियो । अब त्यो बिस्तारै ठूला सहरी क्षेत्रमा समेत फैलिएको छ,’ एसएसपी खनालले भने, ‘यो खतराको संकेत हो ।’
कन्ट्रयाक्ट किलर मनराज र प्रमेश
http://bit.ly/2clDAJP
Comments
Post a Comment