काठमाडौंः सूदुरपश्चिमका दुई जलविद्युत् आयोजनामा सोमबार एकसाथ नौ अर्ब १२ करोड रुपैयाँ बराबरको लगानी सम्झौता भएको छ । एउटै व्यावसायिक समूहको माथिल्लो कालंगागाड (३८.४६ मेगावाट) र कालंगागाड जलविद्युत् आयोजना (१५.३३ मेगावाट) मा माछापुच्छे र एनएमबी बैंकको अगुवाइमा १२ वटा बैंकले ऋण ६ अर्ब ८४ करोड रुपैयाँ र प्रवद्र्धकबाट दुई अर्ब २८ करोड रुपैयाँ लगानी सम्झौता भएको हो ।
माथिल्लो कालंगागाडका लागि माछापुच्छे बैंकको अगुवाइमा राष्ट्रिय वाणिज्य बैंक, नेपाल बैंक, एनसीसी बैंक, सनराइज बेंक, जनता बैंक, कुमारी बैंक र सिभिल बैंकबाट चार अर्ब ७४ करोड लगानी हुने भएको छ । उक्त ऋण सम्झौतामा सानीगाड हाइड्रो प्रालिका अध्यक्ष उमेश श्रेष्ठ तथा ऋण लगानी गर्ने बैंकहरूका तर्पmबाट माछापुच्छेका प्रमुख कार्यकारी अधिकृत तुलसीराम गौतमले हस्ताक्षर गरे ।
यसैगरी कालंगागाड जलविद्युत् आयोजनाका लागि एनएमबीको अगुवाइमा एनआइसी एसिया, सिभिल, जनता, देव विकास र ज्योति विकासबाट दुई अर्ब १० करोड रुपैयाँ लगानी हुने भएको छ ।
यसको ऋण सम्झौतामा कम्पनीका तर्फबाट श्रेष्ठ र एनएमबीका ऋण व्यापारका प्रमुख नवीन मानन्धरले हस्ताक्षर गरेका छन् । यी दुवै आयोजनामा बैंकले ७५ प्रतिशत लगानी गर्न लागेका हुन् ।
दुवै आयोजनाका कम्पनीहरूलाई पब्लिक बनाई सर्वसाधारणलाई सेयर जारी गरिने ऋण सम्झौता कार्यक्रममा वितरित विज्ञप्तिमा उल्लेख छ । दुवै आयोजना बझाङको दहबगर, खिरातडी, सुनकुडा र बाँझ गाविसमा पर्छन् । दुवै आयोजनाको मुख्य निर्माण कार्य दसैंपछि सुरु हुने र माथिल्लो कालंगागाड चार वर्षभित्र तथा कालंगागाड तीन वर्षभित्र सम्पन्न हुने लक्ष्य छ ।
Comments
Post a Comment