भाद्र २५, २०७३- धेरै समयपछि शनिबारको म्यानचेस्टर डर्बी सबैभन्दा प्रतीक्षित खेल हुनेछ, यसका स्टार पात्र र तिनीहरूसँग जोडिएका असंख्य कथा र पटकथाका कारण । र, इङलिस प्रिमियर लिगको यो खेल जोसे मोउरिन्होसँग पेप ग्वार्डिओलोबीचको शत्रु जस्तो प्रतिस्पर्धाको नवीकरण पनि हुनेछ । सन् २०१० यता दुवै क्लब समान अस्तित्वमा छन्, जति बेला सिटीको स्वामित्व अबुधाबी युनाइटेड ग्रुपले किनेको थियो । यो सन् २००८ को घटना हो ।
तर यसपल्ट सिटी आपैंm समाचार हुन थालेको छ । दुवै क्लबले पर्याप्त खर्च गरेर आफ्नो टिम बलियो बनाएका छन् । दुवैले लिगका सुरुआती तीन खेल जितेका छन् । र, शनिबारको खेल जित्नेको अर्थ हुनेछ, सुरुआतमै सही, लिग उपाधि जित्ने दाबीमाथि दाबी थप्नु ।
‘अहिले पूरा म्यानचेस्टर सिटी डर्बीमय भएको छ र हामी आफ्ना समर्थकका कारण उत्साहित महसुस गरिरहेका छौं, ‘सिटीका जर्मन विन्गर लरी सेनले भेनेका छन्, ‘यो ग्वार्डिओलाविरुद्ध मोउरिन्हो पनि हुन् । त्यसैले यो विशेष छ ।’
उनले जर्मनीमा छँदा डर्बी खेल खेले पनि अहिलेको दुई म्यानचेस्टर क्लबबीचको खेल जत्तिको अरू नहुने दाबी पनि गरे । उनको भनाइ छ, ‘सबै खेलाडी पनि उत्तिकै उत्साहित छन् । मलाई विश्वास छ, सिटी तीन अंक बटुल्न सफल हुनेछ र म यसमा योगदान दिन सक्छु ।’ सन् २०११ देखि २०१४ सम्म चार वर्ष लिग उपाधि म्यानचेस्टर सहरमै रह्यो । म्यानचेस्टरले सन् २०११ र २०१३ मा जितेको थियो । सिटीले भने सन् २०१२ र २०१४ मा ।
सन् २०१५ मा भने दुवै म्यानचेस्टर क्लबले चेल्सीको गतिलाई रोक्नै सकेनन् । नतिजा दुवै क्लबमा व्यवस्थापकीय परिवर्तन आयो । विश्व क्लब फुटबलमा सबैभन्दा बढी पारिश्रमिक पाउन तीन व्यवस्थापकमा दुई मोउरिन्हो र ग्वार्डिओला नै हुन् । तेस्रो भने कार्लो एन्सेलोटी । अहिले एन्सेलोटी ग्वार्डिओलाले छाडेको बायर्न म्युनिखमा छन् । मोउरिन्हो र ग्वार्डिओला दुवैले यस सिजनका लागि टिमलाई अत्यधिक मजबुत बनाएका छन् । रमाइलो के भने सिटीका पाँच खेलाडीका लागि शनिबारको खेल पहिलो म्यानचेस्टर डर्बी हुन सक्नेछ ।
मोउरिन्हो र ग्वार्डिओला एकापसमा भिड्न लागेको भने यो पहिलोपल्ट हुनेछ, सन् २०१३ यता । जति बेला मोउरिन्हो रियल म्याड्रिडमा थिए, ग्वार्डिओला बार्सिलोनामा । यसपल्टको म्यानचेस्टर डर्बीमा ग्वार्डिओलाका मुख्य अस्त्र अर्जेन्टिनी स्टार सर्जियो अगुइरो भने हुने छैनन् । आठ डर्बी गोल आफ्नो नाममा लेखाएका अगुइरो प्रतिबन्धबाट गुज्रिरहेका छन् । म्यानचेस्टर युनाइटेडका दुई नयाँ अनुबन्धित खेलाडी ज्लाटन इब्राहिमोभिच र विश्व कीर्तिमानधारी पउल पोग्बाका लागि पनि यो पहिलो डर्बी हुनेछ ।
युभेन्ट्सबाट ११ करोड ८४ लाख डलरमा म्यानचेस्टर आएयता पोग्बा पहिलो ठूलो खेल खेलिरहेका छन् । इब्राहिमोभिचका लागि पनि यो ग्वार्डिओलासँगको व्यक्तिगत शत्रुताको नवीकरण हुनेछ । स्वीडेनी स्टार बार्सिलोनामा छँदा ग्वार्डिओलासँग झगडा भएको थियो । पछि इब्राहिमोभिचले आफ्नो आत्मकथामा ग्वार्डिओलालाई खुबै गाली गर्दै आलोचना गरेका छन् । र, दुवै टिमका सुरुआती ११र११ खेलाडीको मूल्य अनुमान गरिएको छ, ६० करोड पाउन्ड ।
Comments
Post a Comment