भाद्र २८, २०७३- मुलुकमा बर्सेनि आईसीयूमा भर्ना भएका ३० प्रतिशत बिरामीको मृत्यु रगतमा फैलिएको संक्रमण ‘सेप्सिस’का कारण हुने गरेको छ । आईसीयूमा आउने कुल बिरामीमध्ये ७० प्रतिशत सेप्सिसका कारण भर्ना हुने गरेका छन् । मुलुकभरका अस्पतालमा आईसीयूको संख्या करिब ७ सय छ ।
विश्वभर बर्सेनि आईसीयूमा हुने मृत्युको सबैभन्दा ठूलो कारण सेप्सिस हो । मध्यम र कम आय भएका राष्ट्रमा यो समस्या सबैभन्दा बढी देखिएको छ । ‘सेप्सिसले गर्दा आईसीयू भर्ना हुन्छन् भने कतिलाई त यहाँ आएर सेप्सिस विकसित हुन्छ,’ त्रिवि शिक्षण अस्पताल, आईसीयूका क्लिनिकल कोअर्डिनेटर डा.सुवास आचार्य भन्छन् । अझ रगतको संक्रमण भएर यसले अंग विशेषलाई समेत प्रभावित गर्दा हुने स्थिति ‘सेप्टिक शक’ हुँदा मृत्युदर ६० प्रतिशतसम्म छ ।
ग्लोबल सेप्सिस एलायन्स (जीएसए)का अनुसार बर्सेनि दुई करोड ७० लाख व्यक्तिमा सेप्सिस हुन्छ । यसमध्ये एक करोड ९० लाख बर्सेनि बाँचे पनि उनीहरू जीवनभर कुनै न कुनै किसिमको जटिलता अनुभव गर्दै रहन्छन् । यस्तै ८० लाख जति बर्सेनि मर्ने गर्छन् ।

यस्तै बर्सेनि करिब ६० लाख पाँच वर्षमुनिका बच्चा वा नवजात शिशुको मृत्यु सेप्सिसले हुन्छ । सेप्सिस मातृमृत्युको एउटा प्रमुख कारण हो । सेप्सिस सामान्य तया ब्याक्टेरियाको संक्रमणले गर्दा हुन्छ । तर भाइरस वा अन्य कारणले समेत हुन सक्ने औंल्याउँदै डा.आचार्य भन्छन्, ‘यसलाई रोक्ने सबैभन्दा राम्रो तरिका छिटो सेप्सिस हुने कारण पत्ता लगाएर एन्टिबायोटिक लगायतका उपचारको माध्यमले रोक्नु हो ।’
बिरामीलाई सेप्सिस पहिचान भएको एक घण्टाभित्र एन्टिबायोटिक दिँदा मृत्युदरमा १५ देखि २० प्रतिशतसम्म कमी आउने गरेको स्थिति डा.आचार्य औंल्याउँछन् । सेप्सिस भएका बिरामीलाई आईसीयू वा शरीरको क्रियाकलाप अनुगमन गर्ने उपकरण भएको शय्यामा भर्ना गर्नुपर्छ । यसका बिरामीलाई अन्य बिरामीसँग राख्नु हुँदैन भने चिकित्सक वा स्वास्थ्यकर्मीले रोग प्रभावित बिरामीलाई छोएर अन्य विरामीलाई छुँदा हात धुने, पञ्जा फेर्ने लगायतका स्वच्छताको उपाय गर्नुपर्छ ।
सेप्सिसमा छिट्टै रोग पहिचान एवं उपचार अत्यावश्यक मानिन्छ । कुन ब्याक्टेरिया वा के कारणले सेप्सिस भएको हो भन्ने पहिचानपछि बोर्ड स्प्रेक्टम एन्टिबायोटिकलगायत अन्य औषधि दिनुपर्छ ।
के हो सेप्सिस ?
कुनै पनि प्रकारको संक्रमण हुँदा हाम्रो शरीरभित्रको रोग प्रतिरोधक प्रणालीले रगतमा ‘इन्डोटक्सिन’ जस्ता केही रसायन छोड्न थाल्छ । कतिपय समय सानो बच्चा, रोगी, बूढापाकामा यो प्रणालीले आवश्यकताभन्दा बढी रसायन छोड्न थाल्छ र बिरामी सेप्सिसको सिकार हुन्छ ।

सेप्सिस भएपछि सास छिटो–छिटो चल्नु, मुटुको धड्कन छिटो हुनु, शरीरको तापक्रम बढी वा कम हुने हुन्छ । यस्तो लक्षण देखिए तुरुन्त बिरामीलाई अस्पताल पुर्याउनुपर्छ । सेप्सिसको बिरामीमा मतिभ्रमको स्थितिसमेत देखिन सक्छ ।
Comments
Post a Comment