उत्तर कोरियाको उत्तरपूर्वमा रहेको मुख्य परीक्षण क्षेत्र नजिकै ५.३ म्याग्निच्युडको कम्पन रेकर्ड गरिएको छ।
दक्षिण कोरियाको योनह्याप समाचार संस्थाले उक्त कम्पन कृत्रिम भएको बताएको छ।
योनह्यापले दक्षिण कोरिया सरकारको नाम नखुलाइएको उच्च स्रोतलाई उल्लेख गर्दै कम्पन परमाणु परीक्षणका कारण भएको हुनसक्ने सम्भावना उच्च रहेको जनाएको छ।
उत्तर कोरियाबाट भने परमाणु परीक्षणको पुष्टि भएको छैन।
संकेत
हालैको उपग्रहबाट खिंचिएका तस्वीर र खुफिया संस्थाले उत्तर कोरियाले यसअघि परमाणु परीक्षण गरेको क्षेत्रमा गतिविधि बढिरहेको भन्दै पाचौं परिक्षणको संकेत गरेका थिए।
अमेरिकी भूगर्भ संस्था युएसजीएसले शुक्रबार बिहान उक्त क्षेत्रमा मापन गरिएको कम्पन विस्फोटनका कारण भएको जनाएको छ।
उसले त्यस्तो विस्फोट परमाणु अथवा अरु कस्तो किसिमको भएको भन्ने चाहीं खुट्याउन नसकेको बताएको छ।
कम्पनलाई जमीनको सतहमै रेकर्ड गरिएको युएसजीएसले जनाएको छ।
प्रतिबन्ध
संयुक्त राष्ट्रसंघले उत्तर कोरियामाथि कुनै परमाणु वा क्षेप्यास्त्र प्रविधिको परीक्षण गर्नबाट प्रतिबन्ध लगाएको छ।
तर हालैका महिनाहरुमा उत्तर कोरियाले श्रृंखलाबद्ध रुपमा क्षेप्यास्त्र प्रक्षेपण गरेको छ र आफ्ना शत्रुहरुलाई परमाणु हमला गर्ने धम्की समेत दिएको छ।
शुक्रबार उत्तर कोरियाको राष्ट्रिय दिवस हो।
उत्तर कोरियाले उक्त दिनलाई आफ्नो सैन्य शक्ति प्रदर्शन गर्ने अवसरका रुपमा प्रयोग गर्ने गर्छ।
Comments
Post a Comment