सिन्डीकेटको सञ्जाल



काठमाडौँबाट काभ्रेको कोसीपारि क्षेत्रमा पर्ने मादनकुडारी जाँदै गरेको बा३ख १०६ नम्बरको बस ३१ साउनमा बिर्ता देउरालीको खहरे खोलामा दुर्घटनामा पर्दा २९ जनाको ज्यान गयो, ३७ जना घाइते भए । यो सडक खण्डमा अरनिको यातायात सेवा समिति मातहतको सिन्डीकेट कोसीपारि यातायातले बस सेवा सञ्चालन गरिरहेको छ । 
उक्त दुर्घटनाको प्रमुख कारण थियो, सिन्डीकेट र ओभरलोड । सिन्डीकेट यस्तो कि त्यस रुटमा कोसीपारि यातायातले दैनिक १२ वटा बस मात्र सञ्चालन गर्छ, अरूलाई त्यहाँ बस चलाउन प्रतिबन्ध छ  । सिन्डीकेटभित्र नछिर्नेले अन्यत्रजस्तै त्यस रुटमा सार्वजनिक यातायात गुडाउनै पाउँदैनन् । सिन्डीकेटकै परिणाम ३५ सिट क्षमताको उक्त बसमा त्यस दिन ९० जना यात्रु चढ्न बाध्य भए । त्यसमाथि खाद्यान्न र अरू सरसामानले बस ओभरलोडेड थियो । 

काभ्रे दुर्घटना सेलाउन नपाउँदै १० भदौ बिहानै चितवनको नारायणगढ–मुग्लिन सडक खण्डमा बस दुर्घटना हुँदा २२ जनाको मृत्यु भयो । रौतहटबाट पोखरा जाँदै गरेको ग१ख ३७०९ नम्बरको बस बिहान ५ बजे नै चण्डीभञ्ज्याङस्थित कालीखोला भन्ने स्थानबाट त्रिशूली नदीमा खसेको थियो । चितवन दुर्घटनाको दुई दिन नबित्दै अर्घाखाँचीको हंसपुरमा उस्तै दुर्घटना भयो । १२ भदौमा सदरमुकाम सन्धिखर्कबाट प्यूठानको बाँधिकोटतर्फ जाँदै गरेको लु१ज ४८७८ नम्बरको जिप दुर्घटना हुँदा नौ जनाले ज्यान गुमाए । अर्घाखाँची र रौतहटमा पनि काभ्रेकै जस्तो नारायणी यातायात बस व्यवसायी संघ, पृथ्वी राजमार्ग बस सञ्चालक समितिको कष्टसाध्य सिन्डीकेट छ । 

हुन त सार्वजनिक यातायातमा जति दुर्घटना हुन्छन्, ती सबैको कारण सिन्डीकेट मात्र नहोला । तर, धेरै दुर्घटनाको कारण सिन्डीकेट र त्यसबाट सिर्जित समस्या नै हो । महानगरीय ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी नायव महानिरीक्षक (डीआईजी) प्रकाश अर्यालकै भनाइमा पनि दुर्घटनाको एउटा कारण सिन्डीकेट हो । भन्छन्, “यातायात क्षेत्रको सिन्डीकेटले सार्वजनिक यातायातमा थुप्रै् समस्या निम्तिएका छन्, त्यसमध्ये बढी यात्रु कोचिएका कारण हुने दुर्घटना प्रमुख हो ।”  


Comments