भाद्र २१, २०७३- अष्ट्रेलियामा पहिलोपटक ‘नेपाल डे’ मनाउने तयारी सुरु गरिएको छ । नेपाली पर्यटन, कला संस्कृतिको प्रबर्द्धन र विदेशीहरुलाई नेपाल घुम्न प्रेरित गर्ने उद्देश्यले नेपाल डे मनाउने तयारी गरिएको हो ।
अष्ट्रेलियाको दक्षिणी राज्यको एडिलेडमा यही सेप्टेम्बरको २४ तारिखका दिन आयोजना गर्न लागिएको कार्यक्रममा धेरै विदेशीहरुलाई सहभागी गराउने लक्ष्य लिइएको आयोजकले जानकारी दिएको छ । यहाँस्थित अवैतनिक वाणिज्यदुतावासको कार्यलय र गैर आवासीय नेपाली संघ मिलेर उक्त कार्यक्रमको आयोजना गर्न लागिएको हो । आफ्नो देशलाई चिनाउनका लागि नाम महत्वपूर्ण हुने ठानेर आफुहरुले पहिलोपटक ‘नेपाल नेसनल डे’ नाम राखेर पर्यटन प्रबर्द्धनात्मक कार्यक्रम गर्न लागेको एनआरएन साउथ अष्ट्रेलियाका अध्यक्ष नबिन कंडेलले जानकारी दिए ।
कार्यक्रममा नेपाली कला संस्कृती झल्कने विभिन्न नृत्यहरु प्रस्तुत गरिनुका साथै नेपाली पोशाक, पर्यटन सम्बन्धि विविध जानकारी र नेपालमा घुम्न जानेहरुका लागि सुचना उपलब्द्ध गराइनेछ । अवैतनिक वाणिज्यदुत दीपक धमलाले भूकम्पपछि नेपालमा जाने पर्यटकको संख्यामा कमी आइरहेकाले यहाँका पर्यटकहरुलाई नेपाल घुम्न प्रेरित गर्नु कार्यक्रमको मुख्य उद्देश्य रहेको जानकारी दिए । उनले नेपाल पर्यटकीय क्षेत्रका लागि सुरक्षित र सहज छ भन्ने जानकारी दिन झाँकी सहितका कार्यक्रमहरु र केही भिडियो प्रस्तुतीहरु समेत राखिने बताए ।
‘हाम्रो कार्यक्रममा सकेसम्म धेरै विदेशीहरुलाई सहभागी गराउने तयारीमा छौं,’ कार्यक्रम गर्न लागिपरेका एनआरएन सचिव नविन पन्तले भने । उनले कार्यक्रममा स्थानीय अष्ट्रेलियाली मन्त्रीहरुका साथै राजनीतिक दलका नेता तथा सांसदहरु र विभिन्न नेपाली संघसंस्थाका प्रतिनिधि र सर्वसाधारणको सहभागीता रहने दाबी गरे । स्थानीयस्तरमा आफुहरुले मिलेर गरेको कार्यक्रम भएकाले यसले नेपाल र नेपालको पर्यटन क्षेत्रमा केही सहयोग पुर्याउने विश्वास आयोजकले लिएको छ ।
Comments
Post a Comment