प्रियंका विश्वकै महँगी टीभी नायिका



आश्विन ३, २०७३- प्रियंका चोपडा बलिउड छोडेर अमेरिका पुगेपछि करिअरमा लोटरी नै लागिरहेको छ । अमेरिकी टीभी सिरिज ‘क्वान्टिको’ को लिड रोलमा खेल्नका लागि अमेरिका पुगेकी उनले हलिउड फिल्म ‘बे वाच’ मा भिलेनको रोलमा ब्रेक पनि पाइन् । तर टीभी सिरिजलाई भने छोडिनन् । अहिले एक सर्वेक्षणले प्रियंकालाई टीभीका लागि संसारमै सर्वाधिक बढी पारिश्रमिक लिने कलाकार ठहराएको छ ।
फोब्र्स म्यागाजिनले हालै सार्वजनिक गरेको सूचीमा बलिउड नायिका प्रियंकाले सानो पर्दामा सर्वाधिक पारिश्रमिक पाउने टीभी एक्ट्रेसमा रेकर्ड बनाएकी हुन् । ‘चोपडा पक्कै पनि अमेरिकी दर्शकका लागि तुलनात्मक हिसाबले नयाँ हुन् । तर उनी भारतकी सेलिब्रेटी पनि हुन्,’ फोब्र्सले भनेको छ । उक्त पत्रिकाका अनुसार प्रियंकाले एक वर्षभित्रमा एक करोड ११ लाख डलर कमाएकी छन् । पछिल्लो उपलब्धिबाट नायिका पनि खुसी देखिएकी छन् । ‘मैले जे काम गरिरहेकी छु, त्यसबाट यसखाले चिनारी पाउँदा अचम्म लाग्दो अनुभव त हुने नै भयो । यसका लागि सबैसँग म एकदमै आभारी छु ।’ यतिबेला फेरि अमेरिकामा टीभी युग स्वर्णिम कालमा रहेको मानिएका बेला प्रियंकाको उक्त उपलब्धिले ठूलो महत्त्व राख्ने देखिन्छ । त्यसो त फोब्र्सले प्रियंकाको कमाइमा टीभी स्क्रिनमा देखिँदाको आम्दानीबाहेक पनि विज्ञापन खेलेको र ब्रान्ड एम्बेसडरबापत लिएको पारिश्रमिक पनि जोडिएको बताएको छ । हालै उनले एक जुस ब्रान्डका लागि १० लाख रुपैयाँ बढीको सम्झौतासमेत गरेकी छन् ।
सूचीको दोस्रो नम्बरमा मोडर्न फयामिली स्टार सोफिया भर्गरा छिन् । यी ४४ वर्षीया कोलम्बियन स्टार यसअघि लगातार पाँच वर्ष सूचीको पहिलो स्थानमा थिइन् । यसपटक उनको आधिपत्यलाई प्रियंकाले तोडिदिएकी हुन् ।


Comments