आफूलाई स्टार ठान्दिनन् राधिका

आश्विन ४, २०७३- पछिल्लो पटक हलका पर्दामा रजनीकान्तसँग ‘कबाली’ मा देखिएकी राधिका आप्टे आफूलाई चाहिँ बलिउड स्टार ठान्दिनन् रे । उनी स्टार बन्नका लागि आफूले अझ धेरै लामो बाटो तय गर्न बाँकी रहेको ठान्दी रहिछन् ।
‘मलाई लाग्दैन कि म स्टार हुँ,’ हालै एउटा अन्तरवार्ताका क्रममा ३१ वर्षीया अभिनेत्रीले भनेकी छन्, ‘त्यसको लागि यात्रा कठिन छ । तर पूरा गरेरै छाड्नेछु । मलाई लाग्छ, स्टारको त्यो यात्रा बल्ल सुरु भएको छ । र, मलाई त्यसका लागि लामो यात्रा गर्नु छ ।’
रंगमञ्च पृष्ठभूमिबाट फिल्ममा आएकी राधिकाले सन् २००५ मा पहिलो हिन्दी फिल्म ‘वाह, लाइफ हो तो ऐसा’ बाट ब्रेक पाएकी थिइन् । त्यसपछि क्षेत्रीय फिल्ममा बढी सक्रिय उनलाई एकाएक लाइम लाइटमा ‘बदलापुर’ ले ल्यायो । यतिबेला भने उनको ‘पच्र्ड’ रिलिजका क्रममा छ । लिना यादवले निर्देशन गरेको फिल्म अजय देवगणको ब्यानरले बनाएको हो । उक्त फिल्म गत वर्ष नै टोरन्टो फिल्म फेस्टिभलमा विशेष प्रिमियरसमेत गरिएको थियो । फिल्ममा ग्रामीण भेगका चार साधारण महिलाहरू छन्, जो सदियौंदेखिको परम्परा तोड्ने अभियानमा लागेका छन् ।
‘लिना असाधारण महिला हुन् भन्ने लाग्छ,’ राधिकाले आफ्नी निर्देशकको गुणगान गाउने क्रममा भनिन्, ‘अहिलेको समयभन्दा उनको सोचाइको मात्रा धेरै अगाडि छ । उनीसँग काम गर्दा खुब रमाइलो भयो ।’
त्यसो त राधिकाले लिना कलाकारका लागि असाध्यै राम्रो चिताउने निर्देशक रहेको बताउँदै फेरि काम गर्ने इच्छा रहेको सुनाइन् । अभिनयमा खरो उत्रने स्वभावकी राधिका नवाजुद्दिन सिद्दिकीसँग फिल्म ‘माझी : द माउन्टेन म्यान’ मा पनि साथै देखिएकी थिइन् । राम्रो काम गरे पनि उनी यो फिल्ममा नवाजुद्दिनको छायामा छोपिन पुगेकी थिइन् ।


Comments