'सहरी मैया बन्ने इच्छा छ'

'सहरी मैया बन्ने इच्छा छ'

काठमाडौं- 'कबड्डी' फिल्मबाट नेपाली फिल्ममा डेब्यु गरेकी अभिनेत्री रिश्मा गुरुङले अभिनय गरेको 'झुम्की' फिल्म रिलिजको तयारीमा छ। 'मैया' नामक भूमिकाबाट चर्चा कमाएकी अभिनेत्री रिश्माले अभिनय गरेको 'झुम्की' फिल्ममा थारुहरुको कमलरी प्रथालाई केन्द्रित गरिएको छ। विभिन्न गुरुङ फिल्ममा काम गरिसकेकी उनीसँगको कुराकानीः
'झुम्की' फिल्मको प्रमोसनमा व्यस्त हुनुहुन्छ। यो कस्तो खालको फिल्म हो?
द्वन्द्वकालमा थारु समुदायभित्र कायम रहेको कम्लरी प्रथालाई निरन्तरता दिइरहेकी एक कम्लरीको लभस्टोरीमा आधारित भिन्न शैलीको फिल्म हो।
कमलरी र थारु समुदायमाथि कुनै किसिमको अध्ययन र अनुसन्धान गर्नुभयो?
फिल्मको सुटिङको दौरान हामी दाङ पुग्दा कमलरीहरु भेटाएनौं। केही साता दाङमा बसेर हामीले थारु भाषा, संस्कृति र लगाई खुवाईमा भने अनुसन्धान गरेका थियौं। यसले गर्दा फिल्मको सुटिङमो दौरान सहज भएको थियो।
आफ्नो भूमिकालाई न्याय गरेजस्तो लगेको छ?
मलाई दिएको भूमिकालाई न्याय गरेजस्तो लाग्यो। म पहाडकी रैथाने भएपनि तराईको पात्रमा देखिएकी छु। पहिला गरेको फिल्मको तुलनामा यो भूमिका पृथक छ। लुक्स र ड्रेसअप मिले पनि भाषा र रहनसहन सिक्न भने गाह्रो भयो। लामो समयसम्म सुटिङ रोकिदा फेरि सबै कुरा सिक्नुपरेको थियो।
'झुम्की' फिल्मको सुटिङको दौरान कुनै स्मरणीय क्षण याद छ?
तीन पटकको सुटिङपछि फिल्म तयार भएको हो। थारु समुदायको कथावस्तुमाथि बनेको 'झुम्की'को सुटिङको बेला खोलामा लडेर आरामनै गर्नुपरेको थियो। यसले गर्दा सुटिङ प्रभावित भएको थियो।
अधिकांश सञ्चारकर्मी तपाईलाई बोल्नै आउँदैनन् भन्छन् नि? 
मलाई मिलाएर बोल्न राम्ररी आउँदैन। मनमा कुरा राखिरहने बानी नभएकाले प्याच्चप्याच्च बोलिरहेको हुन्छु। सुरुवाती दिनमा एकदम कम बोल्ने गर्थे। धेरैले घमण्डी अभिनेत्री समेत भनेका थिए। सबैकुरा सिकेर जानिने भएकाले आजकल बोल्ने शैलीमा क्रमिक सुधार गरिरहेको छु।
कुनै किसिमको व्यवसाय गर्ने सोचले व्यवस्थापनमा स्नातकोत्तर गर्न लाग्नु भएको?
व्यवस्थापनमा पढ्दैमा व्यापार नै गर्नुपर्छ भन्ने हुन्न। स्नातक व्यवस्थापनमा गरेको हुँदा यस विषयलाई निरन्तरता दिएको हुँ। फेरि औपचारिक शिक्षा बीचमा रोकियो भने निरन्तरता दिन गाह्रो हुन्छ। त्यसैले व्यवस्थापनबारे थप बुझ्न र अध्ययन गर्न स्नाकोत्तरमा भर्ना भएको हुँ।
तपाईले अभिनय गरेको नेपाली फिल्महरु समग्र रुपमा सफल मानिन्छन्। लकले साथ दिएको हो कि साँच्चिकै राम्रो अभिनय गरेजस्तो लाग्छ?
गुरुङ फिल्मको अभिनेत्री हुन्छु भन्ने चाहिँ कताकता लागेको थियो। एसएलसी सिध्याए लगत्तै व्यत्तिगत रुपमा नृत्य र अभिनयहरु गर्न थालेको थिए। गुरुङ फिल्मले मलाई क्यामेरासँग घुलमिल गरायो। कुनै कुरा महसुश गरेर अभियनमार्फत् देखाउने शैलीलाई म कलाकारिता भन्छु। मेरो यो शैली दर्शकलाई पनि मनपरेको हो।
विदेशमा हुने सांस्कृतिक कार्यक्रममा सहभागी हुन व्यस्त हुनु भएर नयाँ फिल्मको लागि समय दिन नसक्नु भएको हो? 
मेरो पहिलो प्राथमिकता अभिनय र फिल्मनै हुन्छ। विभिन्न फिल्मको कुराहरु भए पनि कुनै पनि फिल्म फाइनल भइसकेका छैनन्। सांस्कृतिक कार्यक्रममा विदेश पुग्दा मेरो काम र अभिनयबारे प्रत्यक्ष रुपमा बुझ्न पाइरहेको छु। हाल 'झुम्की' फिल्मको प्रमोसनले गर्दा विदेशी कार्यक्रमहरु रोकेछु।
हालसम्मको नेपाली फिल्मको अनुभव कस्तो रह्यो?
फिल्ममा आउन मैले गरेको मेहेनतलाई सबैले मन पराइदिनुभएको छ। स्थानीय गुरुङ खेल्ने सपना पालेर फिल्ममा डेब्यु गरेको थिएँ। नेपाली फिल्ममा मेरो काम सबैले मन पराइदिनुभयो। हरेक फिल्ममा उत्कृष्ट काम गर्ने प्रयास गरिरहेको छु।
नृत्यमा रुचि राख्ने तपाईले अभिनय गरेका फिल्महरुमा खासै नृत्यहरु हेर्न पाइँदैनन्। किन होला?
झन्डै आधा दर्जन फिल्ममा अभिनय गरेपनि खासै नृत्य देखाउन पाएकी छैन्। कथावस्तुले गर्दा निर्देशकहरुले मलाई नाँचेको सुहाउँदैन भन्नुहुन्छ। फिल्ममा अभियन गर्दा मैले सबैभन्दा सम्झने कुरा नृत्य हुन्छ। जुन अहिलेसम्म देखाउन पाएकी छैन्।
तपाईले अभिनय गरेको फिल्म हेरेपछि आफ्नो मूल्यांकन गर्नुहुन्छ? राम्रो र नराम्रा कुराहरु भेटिन्छन्?
मैले आफैले आफ्नो मूल्याकंन गर्ने भन्दा दर्शक र समीक्षकले गरेको मूल्यांकनबाट धैरै कुरा सुधार्ने प्रयास गरिरहेको हुन्छु। अहिलेसम्म मैले छनोट गरेर अभिनय गरेको फिल्महरुबाट म सन्तुष्ट छु। अभिनयलाई पनि निरन्तर रुपमा सुधारिरहेको छु।
तपाईको रिलेसनसिप स्ट्याटस?
सिंगल ।

Comments