भाद्र २६, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालको बिहीबारबाट हुने भारत भ्रमणको एजेन्डालाई अन्तिम रूप दिन परराष्ट्रमन्त्री प्रकाशशरण महत आइतबार साँझ नयाँ दिल्ली आउँदैछन् । दाहालको भ्रमण एजेन्डाबारे परराष्ट्र मन्त्रालयले गृहकार्य गरिरहे पनि कतिपय महत्त्वपूर्ण एजेन्डालाई कसरी अगाडि बढाउने भन्ने टुंगो लगाउन महतले भ्रमण गर्न लागेका हुन् ।
स्रोतका अनुसार मन्त्री महतले भारतीय समकक्षी सुष्मा स्वराजसँग सोमबार मध्याहन भेटघाट गर्नेछन् । ऊर्जा, जलस्रोत लगायत अन्य क्षेत्रका एजेन्डालाई टुंगो लगाउन महतले अन्य विभिन्न मन्त्रीसँग समेत छलफल गर्ने कार्यक्रम छ । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीसँग पनि भेटघाटका लागि पहल भइरहेको स्रोतले जानकारी दियो । ‘परराष्ट्रमन्त्री महतले प्रधानमन्त्रीको भ्रमणमा नेपालले उठाउने तथा भ्रमणपछि संयुक्त वक्तव्यमा राख्ने विषयलाई अन्तिम रूप दिनु हुनेछ,’ स्रोतले भन्यो ।
प्रधानमन्त्रीको भारत भ्रमणका मुख्य एजेन्डामा पञ्चेश्वर बहुउद्देश्यीय आयोजनाको संयुक्त डीपीआरलाई अन्तिम रूप दिने विषय छ । पर्याप्त तयारी नहुँदा अन्तिममा कतिपय विषय नमिल्ने भएकाले पर्याप्त तयारीका लागि महतले भारत भ्रमण गर्न लागेका हुन् । विशेषगरी पञ्चेश्वर परियोजनाको मूल्यलाई कसरी टुंगो लगाउने भन्ने विषयमा कुरा मिलेको छैन । मूल्य निर्धारण गर्ने, लगानी जुटाउने र परियोजना निर्माणको विषयलाई अगाडि बढाउने विषय डीपीआरसँग सम्बन्धित रहेका छन् । दुवै पक्ष यही भ्रमणमा यो विषयलाई टुंगो लगाएर निर्माण प्रक्रिया अगाडि बढाउने पक्षमा छन् ।
प्रधानमन्त्री दाहालले हुलाकी रोड (दोस्रो चरण) निर्माणलाई तत्काल अगाडि बढाउन चाहेको स्रोतले भन्यो । महतले भ्रमणको क्रममा यस विषयमा भारतीय विभागीय मन्त्रीसँग कुराकानी गर्ने कार्यक्रम तय भएको छ । मुख्यत: कन्सल्टेन्ट नियुक्त गर्ने र फन्डिङ ग्यापको विषय हुलाकी रोडका मुख्य विषय हुन् । भारतले भूकम्प पीडितका लागि उपलब्ध गराउने रकमअनुसार विस्तृत कार्यक्रमहरूको रूपरेखालाई अन्तिम रूप दिने भ्रमणको अर्काे महत्त्वपूर्ण एजेन्डा हो । नेपाल पुनर्निर्माण प्राधिकरणले यस विषयमा विस्तृतमा गृहकार्य गरिरहेको छ । त्यसैगरी भूकम्प पीडितलाई घर निर्माणका लागि थप एक लाख दिने घोषणा गरेका प्रधानमन्त्री दाहालले त्यसका लागि भारतसँग सहयोगको अपेक्षा गरेका छन् । यस अगाडि नै विशेषदूतका रूपमा भारत भ्रमणमा आएका उपप्रधान तथा गृहमन्त्री विमलेन्द्र निधिले भारतीय पक्षसँग यस विषयमा कुराकानी गरेका थिए ।
भ्रमणको अर्को सम्भावित एजेन्डा भनेको क्रस बोर्डर रेलवेलाई अन्तिम रूप दिने रहेको छ । भारतले गत वर्ष नेपालसँग सिमाना जोडिएका भागहरूमा रेलवे निर्माण गर्ने घोषणा गरेको छ । त्यसैगरी प्रधानमन्त्री दाहालले कास्कीमा पोलिनेक्टिक इन्स्टिच्युट निर्माणको प्रस्ताव गर्ने तयारी गरेका छन् । प्रधानमन्त्री दाहालको भ्रमणमा रेडियो नेपाल र अलइन्डिया रेडियोबीच समझदारी हुने सम्भावना छ । प्रधानमन्त्री दाहालको विशेषदूतका रूपमा भारत आएका उपप्रधान तथा गृहमन्त्री निधिले पनि भ्रमणको एजेन्डाबारे भारतीय पक्षसँग प्रारम्भिक कुराकानी गरेका थिए ।
http://bit.ly/2c8zchg
Comments
Post a Comment