भारतीय प्रहरीद्वारा २२ नेपाली युवतीको उद्दार


भारतीय प्रहरीद्वारा २२ नेपाली युवतीको उद्दार
नयाँ दिल्ली–भारतीय प्रहरीले एक होटलमा छापा मार्दै बेचिन लागेका २२ नेपाली युवतीको उद्दार गरेको एएफपीले जनाएकाे छ। इन्दिरा गान्धी अन्तर्राष्ट्रिय विमानस्थनल नजिकै रहेको एक होटलमा छापा मार्दै उनीहरुलाई उद्दार  गरेको प्रहरीले जनाएको छ। प्रहरीले नेपाली दूतावासको आग्रहमा उक्त होटलमा छापा मारेको हाे।
दिल्ली प्रहरी अपराध शाखाका सह–कमिस्नर रबिन्द्र यादवले उद्दार गरिएका युवतीहरुलाई मध्य एसियाका देशमा बेच्ने तयारी गरेकाे जानकारीमा अाएपछि छापा मारी उद्दार गरिएको जनाए। यादवले भने, ‘हामीले छापा मारी २२ जना युवतीको उद्दार गरेका छौं। अनुसन्धानबाट उनीहरुलाई रोजगारीका प्रलोभनमा मध्य एसियाका देशमा बेच्न लान खोजिएको देखिएको छ। हामीले उनीहरुलाई बेच्न खोज्ने दुई जनाको पहिचान गरेका छौं।’
प्रहरीले उनीहरुको खोजीकार्य जारी रहेको जनाएको छ। प्रहरीले एक गिरोहकाे उनीहरुको पासपोर्टसमेत नियन्त्रणमा लिएको जनाएको छ। ०७२ को महाभूकम्पपछि नेपाली युवतीहरुलाई विभिन्न देशमा बेच्नका लाने क्रम बढेको छ।

Comments