निधिको राजिनामा पछि यी हुन काँग्रेसबाट अबको गृहमन्त्रीका दाबेदारहरु


काठमाडौं, १८ बैशाख । सरकारको प्रमुख घटक काँग्रेसबाट सरकारको नेत्तृत्व गरिरहेका उपप्रधानमन्त्री तथा गृहमन्त्री बिमलेन्द्र निधीले राजीनामा दिएपछि काँग्रेसले नयाँ गृहमन्त्री पठाउने तयारी गरिरहेको छ । काँग्रेसमा अहिले निर्वाचनको समय भएकाले अलि कडा र काँग्रेसलाई चुनाव जिताउन सक्नेलाई गृहमन्त्री बनाउनुपर्ने माग उठेको छ । यस्तोमा गृहमन्त्रीका लागि काँग्रेसमा विभिन्न नेताहरु चर्चामा छन् । कांग्रेसबाट अहिलेकै रक्षामन्त्री बालकृष्ण खाण गृहमन्त्री हुने सम्भावना उत्तिकै छ । उनी नहुँदा भौतिक पूर्वाधार तथा यातायात मन्त्री अर्का चर्चाका पात्र हुन् । यी दुवै देउवाका भित्रिया मानिन्छन् । पदाधिकारीमा समेट्न गाह्रो हुँदा देउवाले थामथुम पार्न पुराना र इमान्दार छवि बनाएका गोपालमान श्रेष्ठलाई गृहमन्त्री बनाउने सम्भवना पनि उत्तिकै छ । आफूलाई नजिकबाट सहयोग गर्दै आएका यी तीन जना गृहमन्त्रीमा छनोट हुन सकेनन् भने देउवाको आँखा कृष्णप्रसाद सिटौलातिर पनि छ । सिटौला यस्तै संक्रमणमा खट्न र खेल्न सक्ने नेता भएकोले पनि उनी नै गृहमन्त्री हुने सम्भावना पनि टरिसकेको छैन । यद्यपी सिटौलाले आफू निकटस्थहरुलाई यो पद आफूले नस्वीकार्ने बताउँदै आएका छन् । तर, अप्ठ्यारोमा सभापतिले चाहे जस्तोसुकै अवस्थामा पनि सहयोग गर्न सक्ने बताउँदै पूरै नकारिसकेको अवस्था पनि उनको छैन । निधिसँग देउवाको टसल बढाउँदै आफू देउवाको विश्वासपात्र बन्दै उनीपछिको गुटको नेता हुने तीव्र महत्वकांक्षा पनि सिटौलामा रहेको कांग्रेस स्रोत बताउँछ । यस्तोमा अब खेलाडीमा सिटौला पनि उदाउने सम्भावना उत्तिकै छ । सोमबार प्रधानमन्त्रीले निधिको राजीनामा स्वीकृत गरे भने अर्को गृहमन्त्री बन्ने बाटो खुल्छ ।

Comments