"निर्वाचनको सुरक्षाका लागि नेपाली सेना तयार"


‘निर्वाचनको सुरक्षाका लागि नेपाली सेना तयार’
काठमाडौँ : रक्षामन्त्री बालकृष्ण खाँणले स्थानीय तहको निर्वाचनको सुरक्षा प्रदान गर्न नेपाली सेना प्रतिबद्ध रहेको बताउनुभएको छ।
बुधबार रिपोर्टर्स क्लबको साक्षात्कारमा उहाँले विगतमा संविधानसभाको निर्वाचनमा पनि सेनाले सुरक्षा प्रदान गरेको उल्लेख गर्दै स्थानीय तहको निर्वाचनमा पनि सुरक्षा प्रदान गर्न प्रतिबद्ध रहेको बताउनुभयो।
‘सेना निर्वाचनमा सहभागी हुने मतदाता, कर्मचारी र मतपेटिकाको सुरक्षा गर्न तयार छ’, उहाँले भन्नुभयो,‘अगाडिको घेरामा नेपाल प्रहरी र सशस्त्र प्रहरीले सुरक्षा गर्ने र त्यसपछिको घेरामा निर्वाचनमा खटिने सबैको सुरक्षा गर्नका लागि सेना तयार रहेको छ।’
उहाँले अहिले निर्वाचनमा देशभरिको सुरक्षा कस्तो हुने भन्नेमा आँकलन भइरहेको बताउँदै आवश्यक परेमात्र सेना परिचालन गर्ने जानकारी गराउनुभयो।
‘दुई चरणमा निर्वाचन हुने भएकाले नेपाल प्रहरी र सशस्त्र प्रहरीले मात्र पनि सुरक्षा दिन सक्छन्’, उहाँले भन्नुभयो,‘निर्वाचनमा सेना आवश्यक परेन भने पनि ब्यारेकबाट सेनाले अवलोकन गर्नेछ। जब सेनाको आवश्यकता पर्छ अनिमात्र सेना मैदानमा उत्रनेछ।’
मन्त्री खाँणले सरकारले चाँडै नै राष्ट्रिय प्रतिरक्षा सुरक्षा नीति ल्याउन लागेको जानकारी गराउनुभयो। उहाँले अहिले प्रतिरक्षा सुरक्षा नीतिमा सरकारले सैद्धान्तिक सहमति जनाइसकेको भन्दै चाँडै नै समिति वा आयोग बनाएर कस्तो नीति सम्बन्धमा अध्ययन गरिने जानकारी गराउनुभयो।
उहाँले जेठमा नेपाली काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा गठन हुने सरकारले नै नयाँ बजेट ल्याउने जिकिर गर्नुभयो।
उहाँले काँग्रेस र नेकपा (माओवादी केन्द्र) बीच मतभेद र द्वन्द्व भए पनि तीनै तहको निर्वाचनसम्म दुई पार्टीको समीकरण रहिरहने दाबी गर्नुभयो।
उहाँले देशमा शान्ति कायम, द्वन्द्व व्यवस्थापन र तीनै तहको निर्वाचन गर्नका लागि संविधान संशोधन विधेयक ल्याइएको जानकारी गराउनुभयो। रासस

Comments