रोड सोमा जमे स्थानीय पनि







फाल्गुन ३, २०७३- व्यस्त धम्बोझी चोकमा आइतबार ‘रेडियो अन ह्विल्स’ रोकिँदा दर्शकश्रोताले भरपुर मनोरञ्जन लिए । गायक धर्मेन्द्र सेवान र गायिका श्रेया सोताङ मात्र हैन, स्थानीय कलाकारद्वय प्रमोद डिजी र भीमा पुनले पनि रोड सोको सुनमा सुगन्ध थपे ।
अपराह्न चार बजे सुरु रेडियो कान्तिपुरको म्युजिकल टुर साँझसम्मै चल्यो । भ्यालेन्टाइन डेको एक दिनअघिको सांगीतिक माहोलमा युवाहरू उत्साहित देखिए । गीतको लयमा स्वर मात्र थपेनन्, नाचे पनि । कलेज युवाहरूको क्रिएटिभ पिस भोलेन्टियर्स क्लबले व्यवस्थापनमा सघाएको रोड सोमा दर्शकश्रोताको उल्लेख्य उपस्थिति थियो ।     सेल्फी लिने र फोटो/भिडियोमा कलाकारलाई उतार्नेहरूको पनि उत्तिकै तँछाडमछाड रह्यो ।
श्रेयाको ‘यो छोरीको रूपै राम्रो...’ गीतलाई दर्शकश्रोताले वान्स मोरमा सुने । त्यस्तै, ‘चोखो माया...’, ‘यो माया हो कि होइन...’ गीतमा पनि उनीहरू उत्तिकै रमाए ।
धर्मेन्द्र पनि उसै गरी स्टेजमा जमे । दर्शकश्रोताहरूले नाचेरै उनलाई साथ दिए । आफ्ना लोक पपमा युवा पुस्ता उत्साहित देखिएपछि उनी झन् हौसिए । धेरैले सहजै रुचाएको ‘रेशम फिरिरी...’ गीतले पाको पुस्तालाई नोस्टाल्जिक बनाइदियो । ‘हाजिर गरम...’ बाट नेपालगन्जमा हाजिर गरेका उनले ‘सोल्टिनी हो...’ लगायत गाए । प्रमोदले ‘सुटुक्कै बाटो काटेर गई...’ र भीमाले ‘क्यारम् क्यारम् भो...’ बाट रमाइलो बाँडे ।
जोपो स्मार्ट फोन र स्काइवर्थको साथ रहेको रोड सोले धम्बोझी चोकलाई झन्डै दुई घण्टा संगीतमय बनायो । रोड सोको समापन मंगलबार पोखरामा गरिने संयोजक परमानन्द खनालले जानकारी दिए ।


प्रकाशित: फाल्गुन ३, २०७३




Comments