आश्विन ३, २०७३- अचेल नेपाली फिल्मको बेलायत प्रदर्शन सन्तोषजनक हंँदै गएकामा इभेन्ट अर्गनाइजर दंग छन् । केही साताअघि पूर्वमिस नेपाल सृष्टि श्रेष्ठ अभिनीत पहिलो फिल्म ‘गाजलु’ युरोपकै प्रतिष्ठित सिने वल्र्डका १० फिल्म हलमा चल्यो । त्यतिखेर नायिका सृष्टिले भनेकी थिइन्, ‘अब नेपाली फिल्म अन्तर्राष्ट्रियस्तरका बनिरहेका छन् भन्ने एउटा नमुना हो यो ।’
शनिबार साँझ दीपकराज गिरी र दीपाश्री निरौलाको पछिल्लो चर्चित फिल्म ‘छक्का पन्जा’ ले समेत बेलायतमा अत्यधिक दर्शक बटुल्यो । नेपालमा भदौ तेस्रो साता रिलिज भएयता नयाँ रेकर्ड कायम गरिरहेको ‘छक्का पन्जा’ अल्डरसटस्थित प्रिन्सेस हलमा ‘हाउसफुल’ प्रदर्शन भएको हो । आयोजकमध्ये एक बीरेन खडकाले फिल्म हेर्न ५६५ दर्शक सहभागी भएको जानकारी दिए । ‘हामीले नसोचेका दर्शक आए,’ खडकाले भने, ‘दर्शक मागका कारण आगामी २५ सेप्टेम्बर साँझ एकै दिन लन्डन, उलविच र स्वीन्डनमा समेत देखाउने भएका छौं ।’ एनआरएनए युरोप संयोजक कुल आचार्यले दीप प्रज्वलन गरेपछि दुई देशका राष्ट्रिय गानसँगै प्रदर्शन अघि बढेको थियो ।
लन्डनस्थित नामी भ्यु सिनेमा हलमा समेत ‘छक्का पन्जा’ लगाउन गृहकार्य भइरहेको खडकाले जानकारी दिए । नेपलिज इन्टरटेन्मेन्ट यूकेले ‘छक्का पन्जा’ बेलायत ल्याएको हो । आयोजक समूहमा राजेन्द्र गुरुङ, अनील मल्ल र दीपक खड्कासमेत थिए । दीपाश्री निरौलाको पहिलो निर्देशनमा बनेको उक्त फिल्मले हास्यव्यंग्यबाहेक रेमिट्यान्समाथि निर्भर नेपाली समाजमा त्यसले उब्जाएका सामाजिक विचलन पक्ष राम्ररी समेटेको छ । फिल्ममा प्रियंका कार्की, दीपकराज गिरी, शिवहरि पौडेल, जितु नेपाल, बुद्धि तामाङ, केदार घिमिरे, वर्षा राउतलगायत कलाकार छन् । ‘छक्का पन्जा’ फिल्म निर्माण टोलीले यसअघि बनाएका ‘६ एकान ६’ र ‘वडा नम्बर ६’ पनि बेलायतमा राम्ररी प्रदर्शन भएका थिए ।
http://kantipur.ekantipur.com/news/2016-09-19/20160919073644.html

Comments
Post a Comment