सिरियाको एलेप्पो सहरको विद्रोही नियन्त्रित क्षेत्रमा खटिएका उद्धारकर्मीले, सरकारी हेलिकोप्टरले ब्यारल बमको प्रयोग गरि क्लोरिन ग्यासबाट आक्रमण गरेको बताएका छन्।
पूर्वी एलेप्पोमा रहेका एकजना अभियानकर्मीले उक्त ग्यासको असरले एकजनाको ज्यान गएको र अन्य १ सय २० जना घाइते भएको बीबीसीलाई बताएका छन्।
राष्ट्रपति बसर अल असदको सरकारले रासायनिक हतियारको प्रयोग गरेको भन्ने आरोप बारम्बार अस्वीकार गरेको छ।
सरकारले एलेप्पो सहर पूर्ण रुपमा आफ्नो नियन्त्रणमा आएको बताएपनि संयुक्त राष्ट्रसंघले सिरियाले क्रुर लडाईँ बेहोरिरहेको जनाएको छ।
आरोप
सिरियाली सरकारी फौजमाथि एलेप्पो शहरको बाहिरी इलाकामा हेलिकप्टरमार्फत क्लोरिनसहितका ब्यारल बम खसाएर १ सय २० जनालाई घाइते बनाएको आरोप लगाइएको छ।
आपतकालीन स्वयंसेवकका अनुसार सुकारी क्षेत्रमा गरिएको उक्त आक्रमणपछि मानिसले स्वासप्रस्वासमा कठिनाई बेहोरेका थिए।
पछिल्ला विवरणको स्वतन्त्र रुपमा पुष्टि भइसकेको छैन।
तर यसअघि संयुक्त राष्ट्रसंघले अगष्ट महिनामा गरेको छानबिनले सरकारले कम्तीमा दुई पटकमा क्लोरिन प्रयोग गरेको उल्लेख गरेको थियो।
सिरियाली सरकारले त्यसरी रासायनिक हतियार प्रयोग गरेको अस्वीकार गर्दै आएको छ।

एकजना सिरियाली उद्धारकर्ता इब्राहिम अल्हाजले हेलिकोप्टरले चारवटा क्लोरिनसहितका सिलिन्डर खसालेको केही समयमा नै आफू घटनास्थल पुगेको बताएका छन्।
प्रतिबन्ध
विपक्षीको नियन्त्रणमा रहेका इलाकामा काम गरिरहेको सिरियाली 'सिभिल डिफेन्स' नामक उक्त समूहले आफ्नो फेसबुक पेजमा राखेको भिडियोमा त्रसित बालबालिकाले सास फेर्न अक्सिजन मास्कको प्रयोग गरिरहेको देखाइएको छ।
यसअघि अगष्टमा पनि सरकारले क्लोरिन प्रयोग गरि आक्रमण गरेको उक्त समूहले आरोप लगाएको थियो।
सिरिया सरकारको साझेदार रहि आएको रुसले विद्रोहीले विशाक्त ग्यास भरिएका विस्फोटक पदार्थ प्रयोग गरि सरकार नियन्त्रित क्षेत्रमा आक्रमण गरिरहेको आरोप लगाएको छ।
क्लोरिन उद्योगमा प्रयोग गरिने सामान्य खालको रसायन हो तर यसलाई हतियारमा प्रयोग गर्न रासायनिक हतियार सम्बन्धी महासन्धीले प्रतिबन्ध लगाएको छ।
संयुक्त राष्ट्रसंघले मंगलबार यसै वर्षको सुरुमा छोटो समयका लागि शान्तिको अनुभुति गर्न पाएका सिरियाली नागरिक अझ भीषण लडाइँमा फस्दै गएको भन्दै चिन्ता जनाएको छ।
सिरियाबारेको १२ औँ प्रतिवेदनमा राष्ट्रसंघले ६ लाख सिरियाली घेराबन्दीमा बस्न बाध्य भएको र थप तीन लाख एलेप्पो शहर मात्रैमा घेराबन्दीमा परेको जनाएको छ।
Comments
Post a Comment