
आश्विन २, २०७३- प्रधानमन्त्री पुष्पकमल दाहालको भोली न्यूयोर्क जाने कार्यक्रम रद्द भएको छ । उनी राष्ट्रसंघीय महासभामा भाग लिन भोलि राति न्यूयोर्क प्रस्थान गर्ने कार्यक्रम थियो ।
आन्तरिक राजनीतिक बिषयमा व्यस्त हुनुपरेको कारण प्रधानमन्त्रीले न्यूयोर्क यात्रा स्थगित गरेको प्रधानमन्त्रीका स्वकीय सचिव रमेश मल्लले जानकारी दिए ।
प्रधानमन्त्रीको अनुपस्थितिमा परराष्ट्र मन्त्री प्रकाशशरण महतले महासभामा नेपाली टोलीको नेतृत्व गर्नेछन् ।
परराष्ट्र मन्त्री महत हिजै दिल्लीबाट न्यूयोर्क गइसकेका छन् । उनी प्रधानमन्त्री दाहालको ४ दिने भारत भ्रमणको क्रममा दिल्ली पुगेका थिए ।
‘आन्तरिक राजनीतिक बिषयमा व्यस्त हुनु परेकाले प्रधानमन्त्री नजाने हुनुभएको हो’, मल्लले भने,‘दशैंपछि धेरै बिदा पर्ने र अहिले संविधान कार्यान्वयनको लागि महत्वपूर्ण समय भएकाले भ्रमण स्थगित गरिएको हो।’
भोलि वा पर्सी परराष्ट्र सचिव शंकर बैरागीसहित केही परराष्ट्रका अधिकारी महासभामा भाग लिन जानेछन् ।
भोलि असोज ३ गते संविधान दिवस पनि हो । गत वर्ष असोज ३ मा नेपालले पहिलो पटक संविधानसभाद्वारा संविधान जारी गरेको थियो ।
Comments
Post a Comment