विश्वकप छनौट खेल्न १८ सदस्यीय महिला क्रिकेट टोली घोषणा



काठमाडौं— आगामी अक्टुबर ९ देखि हङकङमा हुने विश्वकप छनोटका लागि १८ सदस्यीय महिला राष्ट्रिय क्रिकेट टोलीको घोषणा भएको छ। नेपाल क्रिकेट सङ्घ (क्यान) निलम्बनको समयमा रहेकाले राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले सोमबार टोलीको घोषणा गरेको हो।
एसियाली क्षेत्रको छनोटमा नेपालले आयोजक हङकङ, चीन र थाइल्यान्डसँग खेल्नुपर्नेछ। यो समूहबाट पहिलो हुनेले सन् २०१७ मा आयोजना हुने वल्र्ड क्वालिफायरमा भाग लिन पाउनेछ।

रुविना क्षेत्रीको कप्तानीमा रहेको १८ सदस्यीय टोलीमा सीता राना मगर, काजोल श्रेष्ठ, सोभा आले, नेरी थापा, नीरा राजोपाध्याय, रोशनी बोहरा, सवनम राई, लक्ष्मी चौधरी, सङ्गीता राई र इन्दु बर्मा छन्।

त्यस्तै, ज्योति पाण्डे, सरस्वती चौधरी, अनुराधा चौधरी, रश्मी शर्मा, निर्मला शाही, करुणा भण्डारी र सरिता मगर पनि टोलीमा अटाएका छन् । टोलीका मुख्य प्रशिक्षक राजु बस्नेत हुने बताइएको छ भने पुरुष राष्ट्रिय टोलीका मुख्य प्रशिक्षक जगत टमाटा र विनोद दासले प्रशिक्षणमा सहयोग गर्नेछन्।

पहिलो चरणमा ४८ जना खेलाडीलाई बन्द–सत्रमा राख्दै २४ मा झारिएको थियो। अब २४ बाट १८ मा झारिएको छ। केही समयपछि हुने अन्तिम घोषणामा १४ सदस्यीय टोली रहनेछ जसले प्रतियोगिता खेल्नेछ। 

Comments