परम्परागत पर्खाल तोडेर फिल्म र मोडलिङमा मुस्लिम तन्नेरी




‘फाइट फर द राइट रिजन, नट् विद द रिलिजन विकज वी अल आर ह्युमन बिङ’
सन् २००९ को मिस्टर राजधानीमा एक प्रतियोगीले यसो भनेर आफ्नो परिचय दिएपछि तालीको पर्रा छुट्यो । त्यतिबेला कपिलवस्तुमा हिन्दु र मुस्लिम समुदायबीच सद्भाव बिथोलिने त्रास बढेको थियो । यस्तो परिदृश्यमा मानवीयतालाई प्राथमिकतामा राखेर आफ्नो मन्तव्य दिएपछि ती प्रतियोगीले ताली पाउनु स्वाभाविक थियो । त्यसमाथि उनी थिए, मुस्लिम समुदायका प्रतिनिधि । उक्त प्रतियोगितामा मुस्लिम युवक सहभागी भएको त्यो नै पहिलो घटना थियो, त्यसमाथि खुलेर सद्भावको पक्ष लिएपछि प्रतियोगिताको टाइटल जित्न उनलाई गाह्रो भएन । फेसन र मोडलिङ क्षेत्रको पहिलो पाइलामै उनी विजयी भए । उनी अर्थात् हसन राजा खान । 

हसन सौन्दर्य प्रतियोगिता जित्ने पहिलो नेपाली मुस्लिम मात्र होइनन्, फिल्ममा मुख्य भूमिका निर्वाह गर्ने पहिलो मुस्लिम अभिनेता पनि मानिन्छन् । उनी अभिनीत तीन फिल्म साथी म तिम्रो, नाइट क्विन र अलबिदा रिलिज भइसकेका छन् । 

सहरिया युवापुस्ताले रुचाएको फिल्म हो, होस्टेल रिटन्र्स । त्यसमा पनि रामेश्वर यादव नामक चरित्र हिट भयो । तर, मिथिला नगरीका पण्डितका रूपमा पर्दामा देखिने यी अभिनेता नाजीर हुसेन पनि मुस्लिम समुदायका हुन् । पण्डित बनेका नाजीरले पात्रलाई जीवन्तता दिन टुप्पी पाले, जनै लगाए । तर, कतिपय मुस्लिम धर्मावलम्बीलाई पाच्य भएनछ । फेसबुक, ट्वीटर जस्ता सामाजिक सञ्जालमा उनीमाथि तीखो प्रहार गरियो । मनमा पीडा भए पनि नाजीरले बाहिर पोखेनन् । किन त ? भन्छन्, “फिल्म रिलिज भएपछि सबैको चित्त बुझ्छ भन्नेमा ढुक्क थिएँ । किनभने, नाजीरले होइन, रामेश्वरले टुप्पी पालेको थियो ।” नभन्दै भयो पनि त्यस्तै, हिजो खिलाफमा उत्रिएकाहरूले होस्टेल रिटन्र्स प्रदर्शनपश्चात् उनको प्रशंसामा कन्जुस्याइँ गरेनन् । थिएटर हुँदै फिल्ममा फड्को मारेका यी तन्नेरी हाल चर्चामा रहेका अभिनेतामध्ये अग्रपंक्तिमा छन् । होस्टल रिटन्र्सपछि जंगे र वीर विक्रमले नाजीरलाई झन् चर्चित बनाएको छ । 

पछिल्लो तथ्यांक अनुसार नेपालको कुल जनसंख्याको ३ दशमलव ७ प्रतिशत मुस्लिम धर्मावलम्बी छन् । तर, नेपाली फिल्म निर्माणको आधा शताब्दीसम्म मुस्लिम कलाकारको उल्लेख्य प्रतिनिधित्व रहेन । तैयब शाह नेपाली फिल्म क्षेत्रमा मुस्लिम समुदायका सम्भवत: पहिला प्रतिनिधि हुन् (हेर्नूस्, बक्स) । ०४५ तिर नेपाल टेलिभिजनबाट प्रसारण भएको टेलिफिल्म भीडदेखि भीडसम्ममा अर्का मुस्लिम कलाकार सहनवाज खानले अभिनय गरेका थिए । तर, त्यसपछि उनी गुमनाम भए । 

०६२/०६३ को जनआन्दोलनपछि समावेशिताको लहर सुरु भयो, फिल्ममै पनि जनजाति कलाकार बढे । तर, मुस्लिम समुदायका कलाकार देखिएनन् । मुस्लिम समुदायका कलाकार मात्र होइन, नेपाली फिल्ममा मुस्लिम समुदायका कथाले पनि कहिल्यै स्थान पाएनन् । “कलाकार र कथामा रहेको यही अभाव पूर्ति गर्ने प्रयास गरिरहेका छौँ,” हसन दुखेसो पोख्छन्, “तर, अशिक्षाको दलदलमा फसेको हाम्रो समुदायलाई ग्ल्यामर जगत्प्रति सकारात्मक भाव बनाउन बडो मुस्किल छ ।” अझसम्म कुनै मुस्लिम हिरोइन अभिनीत फिल्म प्रदर्शन नहुनुले पनि हसनको भनाइ प्रमाणित गर्छ । 

फिल्म र फेसन दुनियाँमा छिर्न केटालाई त गाह्रो छ, झन् केटीलाई कति गाह्रो होला ! तैपनि, परम्परागत घेरालाई तोड्दै सानिया खान र ओशिमा बानु हिरोइन बन्ने पथमा अग्रसर छन् । यी चारबाहेक फिल्मवृत्तमा अन्य मुस्लिम कलाकार देखिन्नन् । नाजीर र हसनको संघर्षको कथा पल्टाउँदा नै थाहा हुन्छ, सानिया र ओशिमा कति ठूलो चुनौती मोल्दै छन् । 

बारा, डुमरवानामा हुर्किएका नाजीर पहिलो नाटक खेल्दा ६ कक्षामा पढ्थे । उनको परिवारमा त परको कुरा, समुदायमै नाटक खेल्ने, अभिनय गर्ने कोही थिएनन् । चौतर्फी गाली र छेडखानी सहेरै पनि उनले ‘नौटंकी’ गर्न छोडेनन् । राजन खतिवडाबाट अभिनय प्रशिक्षण लिएपछि उनको नाट्य मोह अझ अकासियो । नाजीर सम्झन्छन्, “जसले जे भने पनि अभिनय गर्नु नराम्रो होइन भन्नेमा निश्चिन्त थिएँ । त्यसैले थप सम्भावनाको खोजी गर्दै काठमाडौँ आएँ ।” मण्डला थिएटरको स्थापनाबाटै जोडिने अवसर पाए उनले । चरणदास चोर, जम्पिङ फ्रग, माथा पञ्चर, इब्सन ल्याबजस्ता नाटक खेलेपछि सुवास कोइरालाले फिल्म पुन्टे परेडमा अभिनय गराए । फिल्म त फ्लप भयो तर नाजीर ‘मार्क’ भए । होस्टेल रिटन्र्सको रामेश्वर यादव, जंगेको भोजपुरी लबजमा नेपाली बोल्ने नकारात्मक भूमिका र वीर विक्रमको दलित पात्रले उनको लोकप्रियता बढाएको छ । ३१ भदौमा प्रदर्शन हुने गाँठोमा एकल अभिनेता हुन् नाजीर । 

नाजीरको प्रगति देखेर फिल्म र नाटकतिर मुस्लिम युवकयुवतीको मोह बढेको छ । “तर, उनीहरू परिवार र समुदायको डरले आफ्नो चाह मार्न बाध्य छन्,” अर्को वर्ष मुस्लिम समुदायको कथा नाटकमा उधिन्ने योजनामा रहेका नाजीर सुनाउँछन्, “तर, हामीले डराएर भन्दा काम गरेर प्रमाणित गर्ने बेला आएको छ । किनभने, फिल्म खेल्नु भनेको धर्म वा समुदायको बर्खिलाफमा जानु होइन ।” 

त्यसो त होस्टल रिटन्र्समा नाजीर पण्डित बन्नुअगावै अलबिदामा हसनले हिन्दु ब्राह्मणको भूमिका निर्वाह गरिसकेका थिए । यो फिल्मको कथा उनैले लेखेका हुन्, निर्माण पनि उनकै । सकारात्मक सामाजिक सन्देश जाओस् भनेर आर्यन सिग्देल र अनिता आचार्यलाई मुस्लिम चरित्रमा खेलाए । तर, आफ्नो समुदायबाट नाजीरको भन्दा ज्यादा खप्की खानुपर्‍यो । किनभने, उनले पनि टुप्पी नराखी टाउको मुडुलो बनाएका थिए । अर्कातिर फिल्ममा मुस्लिम केटीले हिन्दु केटासँग विवाह गर्छिन् । “नेपाली फिल्ममा मुस्लिम युवती हिन्दुको बुहारी भएको कथा नदेखाइएकाले मलाई धर्मको मान्यताबाहिर गएको आरोप लगाइयो । धेरै विरोध भयो,” हसन सुनाउँछन्, “तर, मैले फिल्ममा न मुस्लिम नराम्रो देखाएको थिएँ, न हिन्दुलाई नै । त्यसैले कहिल्यै नेपाली फिल्म नहेरेका मुस्लिमले पनि अलबिदा हेरेर प्रशंसा गरे ।” मुस्लिमकै साथ पाएर हौसिएका हसन यतिबेला नयाँ फिल्म रोमियोमा मुस्लिम युवतीलाई नै मुख्य भूमिकामा काम गराउँदै छन् । असोज पहिलो साताबाट सुटिङ सुरु हुने यस फिल्ममा ओशिमा बानु अनुबन्ध भएकी हुन् । हिरो र हिरोइन नै मुस्लिम भएकाले रोमियो प्रतीक्षित बनेको छ ।

भारत, पाकिस्तान, बंगलादेशमा थुप्रै मुस्लिम महिलाले फिल्म जगत्मा सान र मान कमाएका छन् । तर, हाम्रो फिल्म क्षेत्र करिब मुस्लिम महिलाविहीन छ । त्यसैले त ओशिमाको प्रवेशलाई महत्त्वसाथ हेरिएको छ । हुन त फिल्मका लागि ओशिमा नयाँ अनुहार भए पनि नेपालको मोडलिङ र फेसनमा उनले दरिलो पहिचान बनाइसकेकी छन् । उनलाई थाहा नभएको होइन, मुस्लिम महिला भन्नासाथ धेरैको मस्तिष्कमा बुर्काले ढाकिएको तस्बिर आउँछ । तर, परिवार र आफन्तको साँघुरो घेराभन्दा माथि उठेर ओशिमा परिवर्तित र आधुनिक सोचको नमुना बन्न चाहन्छिन् । “मुस्लिम धर्मप्रति निकै आस्था र विश्वास छ मेरो,” फेसन, मोडलिङ र इभेन्ट म्यानेजमेन्टसम्बन्धी काम गर्ने संस्था हाउस अफ फेसनकी संस्थापक समेत रहेकी ओशिमा भन्छिन्, “तर, समय अनुसार अगाडि बढेर सम्भावनाको नयाँ ढोका खोल्न धर्म बाधक हुँदैन । आस्थालाई अँगालेरै म फेसन र फिल्ममा अगाडि बढिरहेकी छु ।” काठमाडौँमा हुर्किएकाले उनलाई अन्य मुस्लिम महिलाको तुलनामा सहज भएको हो ।

सौन्दर्य प्रतियोगिताबाट ओशिमाले रंगीन दुनियाँमा उपस्थिति जनाएकी थिइन् । पिस अफ क्लासिक डाइमन्ड जितेपछि सन् २०१३ मा उनले मिस नेपाल प्रतियोगितामा भाग लिइन् । टप टेनसम्म पुगिन् । यसले उनको आत्मविश्वास बढ्यो । सुनाउँछिन्, “त्यतिबेलै मुस्लिमको बेइज्जत गरेको भनेर मलाई गाली गर्ने धेरै थिए तर मेरो नियत गलत थिएन । पछि मैले सफलता पाउँदै गएपछि पहिले विरोध 
गर्ने मेरै समुदायका मान्छे ले पनि साथ दिन थाले ।” रोमियोमा अनुबन्ध भएको खबर सार्वजनिक भएसँगै फेरि उनले आफूविरुद्ध तीखा टिप्पणी सुन्नुपरेकै छ । तैपनि, फेरि कामले नै प्रमाणित गर्ने भन्दै चुपचाप छिन् । कसले के भन्ला भन्दा कसरी चरित्रलाई जीवन्त बनाउने भन्नेमा बढी ध्यान छ उनको । 
“हाम्रो समुदायमा २० वर्ष नपुग्दै विवाह हुन्छ र पूरा जीवन घरमै सीमित हुन्छ तर म २८ वर्ष भइसकेँ, न विवाह भएको छ, न घरमै खुम्चिएर बसेकी छु,” मुस्लिम युवतीलाई मोडलिङसम्म डोर्‍याउन भूमिका खेलिरहेकी ओशिमा भन्छिन्, “त्यसैले मेरो विरोध गर्नेहरूसँग कुनै गुनासो छैन । परिवर्तन हुन केही समय लाग्छ । हामी डर र हीनताबोधभन्दा माथि उठ्नुपर्छ ।” 

ओशिमाको सोचसँग ठ्याक्कै मेल खान्छ, अर्की मुस्लिम युवती सानिया खानको पनि । सानियाको डेब्यु फिल्म कुइनेटो तिहारलगत्तै प्रदर्शन हुँदै छ । पहिलो फिल्मको रिलिज नजिकिँदै गर्दा आमहिरोइनझैँ उनमा पनि उत्साह बढिरहेको छ तर मनको भित्री कुनामा डर पनि । किन त ? भन्छिन्, “म्युजिक भिडियोमा मोडलिङ गर्दा त धर्म बिगारेकाले समाजबाटै निकाल्नुपर्छ भनेर कुर्लने धेरै थिए । फिल्म रिलिजपछि त झन् के होला भन्ने डर स्वाभाविक हुने भइहाल्यो । तर, परिवारको पूर्ण सहयोग र हाम्रै समुदायमा पनि चेतना बढेकाले उत्साही छु ।” ‘सयौँ जुनी...’ ‘ तिम्रो माया...’लगायतका आधा दर्जन गीतमा मोडलिङ गरेपछि उनी कुइनेटोसँग जोडिएकी हुन् । 

बुटवलमा हुर्किएकी सानिया एसएलसीपछि थप अध्ययनका लागि भारतको बैंग्लोर पुगिन् । परिवारकै सल्लाहमा कानुन पढ्न थालिन् । तर, परिवारलाई पत्तै नदिई डान्स र अभिनय प्रशिक्षण लिइन् । जसले उनलाई फिल्म र मोडलिङमा तान्दै लग्यो । त्यतिबेला उनलाई परिवार र समुदाय सम्झँदा डर लाग्थ्यो तर उनीसँगै बैंग्लोरमा मुस्लिम युवतीले पनि मोडलिङ गरिरहेका थिए । हाल कानुनमा स्नातकोत्तर गरिरहेकी सानिया भन्छिन्, “तर, काठमाडौँमा आएर म्युजिक भिडियो खेलिसक्दा पनि परिवारलाई भन्ने आँट आएन । साथीहरूबाट थाहा पाउनुभयो, सुरुमा गाली खाइयो ।”

म्युजिक भिडियोपश्चात् उनलाई धेरैले चिन्न थाले, सम्मान बढ्यो । छोरीको प्रगति नियालिरहेका उनका आमाबाबुले बिस्तारै साथ दिन थाले र उनीहरूकै सहमतिमा कुइनेटोमा काम गरिन् । आत्मविश्वास र जनसम्पर्क बढाउने भएकाले अन्य पेसामा सफलता हासिल गर्न पनि फिल्म र मोडलिङको अनुभव प्रभावकारी हुने उनी बताउँछिन् । पढाइ र अभिनयलाई सँगसँगै लैजाने योजनामा रहेकी सानिया भन्छिन्, “फिल्म खेल्नु धर्म र संस्कृतिको अपमान होइन भन्ने सोच विकास गराउन हामी नयाँ पुस्ताले अझ केही समय संघर्ष गर्नुपर्छ ।” 

पक्का पनि सानियाहरूको प्रवेश मुस्लिम समुदायको सशक्तीकरणको प्रतिविम्ब मात्र होइन, नेपाली सिनेमाको विविधता र समृद्धिको संकेत पनि हो । 

रंगमञ्चदेखि फिल्म निर्माणसम्म 

काठमाडौँका तैयब शाहले ’३० को दशकको उत्तराद्र्धमा कलाकारिता सुरु गरेका थिए, रंगमञ्चबाट । खास गरी गाईजात्रामा हुने हास्य प्रहसनमा निकै लोकप्रिय भए । यही लोकप्रियताले उनलाई फिल्म खेल्ने मौका जुरायो । ०४३ बाट उनको फिल्मी यात्रा सुरु भयो । फिल्ममा हास्यप्रधान भूमिकामा देखिन्थे । गोपालराज मैनालीपछि नेपाली फिल्ममा चंखे शैलीको कमेडीलाई तैयबले समातेको कलाकार कृष्ण मल्ल बताउँछन् । सक्कली नक्कलीमा उनले निर्वाह गरेको चरित्र अझ पनि सम्झने धेरै छन् । दर्जनौँ भिडियो–गीतमा नाचेका छन् । उनले अभिनय गरेको ‘मेरो घरको पल्लो छेउमा...’ गीत नेपाली मिडियाबाट प्रसारण हुने पहिलो म्युजिक भिडियो भएको दाबी छ, यसका गायक उज्ज्वल मैनालीको । 
संकल्प, स्वर्गलगायतका फिल्म खेलेपछि विदेश पलायन भए । फर्केर उनले आवारा र बेइमानी फिल्म आफैँले निर्माण गरे । तीन वर्ष पहिले यादव खरेल निर्देशित फिल्म हत्तेरीमा देखिएका तैयब यतिबेला रेस्टुराँ व्यवसायमा छन् ।

Comments