जथाभावी प्लटिङले खेत बाँझै



भाद्र २२, २०७३- सहरोन्मुख र मोटरबाटोको तीव्र विकाससँगै टार, फाँट र उपत्यकाका खेत बाँझो हुन थालेका छन्। धान धेरै फल्ने क्षेत्रमा समेत जग्गाको प्लटिङ बढेपछि यस्तो भएको हो।
यहाँ बर्सेनि बढ्दो प्लटिङले खेतीयोग्य जमिन घडेरी हुँदा बाँझो भएको हो। खेतीयोग्य जमिनसँगै खाद्यान्न उत्पादनसमेत घट्दै गएको छ। ‘ठूला किसानका कारण उत्पादनमा कमी नदेखिएको हुन सक्छ,’ कृषि विकास कार्यालयका प्रमुख राजेन्द्र कोइरालाले भने, ‘साना किसान र थोरै उत्पादन गर्नेको खेतबारी बाँझिने क्रम बढ्दो छ।’
धान, मकै, गहुँ उत्पादन हुने खेत, बारी धमाधम प्लटिङ हुन थालेका छन्। जसले गर्दा उत्पादन घटदै गएको हो। यस्तै अवस्था रहे जिल्लामा थप खाद्य संकटको सम्भावना बढ्नेछ। कृषिका अनुसार उत्पादन भएको अन्न व्यवस्थित गर्ने हो भने जिल्ला आत्मनिर्भर हुन सक्छ। प्लटिङ बढ्दै गयो भने जिल्लामा विकराल खाद्य संकट हुन्छ। कृषि प्रमुख कोइरालाका अनुसार जिल्लामा ४१ प्रतिशत खेतीयोग्य जमिन छ। ५७ हजार हेक्टर जमिनमध्ये ३६ हजार हेक्टरमा खेती गरिएको छ।
राज्यले छिटै भूउपयोग नीति नबनाए समथर र सहरोन्मुख क्षेत्रमा बचेका जमिनसमेत सकिने उनले बताए। ‘प्लटिङ गर्ने दर झन्झन् बढ्दो छ,’ कोइरालाले भने, ‘अघिल्लो सिजनमा तरकारी, धान, गहुँ अनुगमन गर्न गएको स्थानमा अर्को वर्ष जग्गा बाँझै पाइन्छ।’ दुई वर्षयता भने ग्रामीण भेगमा प्लटिङ बढेको छ। जिल्ला मालपोत कार्यालयका प्रमुख नवराज बरालका अनुसार माडी क्षेत्र, बाँसटारी, झडेवा, कसेनी, रुप्से र रामपुर क्षेत्रमा अत्यधिक प्लटिङ भएको छ।
पूर्वभेगमा रामपुर, दर्छा, गाडाकोट, खालीवन, गेझा, हुँगी क्षेत्रमा बढ्दो कारोबार छ। कालीगण्डकी करिडोर, रामपुर–मित्याल–अरुणखोला (नवलपरासी), तानसेन–झडेवा–खैरेनी (रुपन्देही), छहरा–सालझण्डी (रुपन्देही) सडकको विस्तार सुरु भएपछि झनै कारोबार बढेको हो। जमिनलाई प्लटिङ गरी आवासीय क्षेत्रमा कालीगण्डकी करिडोरको रामपुर क्षेत्र, माडी चक्रपथ, अर्गली, झडेवा, कचल, फाँटहरूलाई रूपान्तरण गरिएको प्रमुख बरालले बताए।

Comments