बलि दिन किशोरी अपहरण गर्ने पक्राउ

बलि दिन किशोरी अपहरण गर्ने पक्राउ

काठमाडौः चामत्कारिक रूपमा धन आर्जन हुने र बिरामीलाई सन्चो हुने अन्धविश्वासमा राजधानीबाट एक किशोरी अपहरण गरी बलि दिन खोज्ने एक व्यक्तिलाई प्रहरीले पक्राउ गरेको छ । राजधानीको सानो भर्‍याङबाट गत साउन १४ गते एक १६ वर्षीया किशोरीलाई बलि दिन अपहरण गरेको घटनामा तनहुँ व्यास रुम्सीगाउँका भोजबहादुर थापा पक्राउ परेका हुन् ।
प्रहरीका अनुसार बिरामीलाई सन्चो हुने र चामत्कारिक रूपमा धन आर्जन हुने भन्दै एक तान्त्रिकले थापालाई सुझाएपछि थापासहितका सातजनाले काठमाडौंको सानोभर्‍याङबाट रसिता (नाम परिवर्तन) को गत साउन १४ गते अपहरण गरेका थिए । तत्कालीन समयमा रसितालाई ‘विशेष पूजा गर्नुपर्‍यो कन्याकुमारी चाहिन्छ’ भन्दै अपहरण शैलीमा मोटरसाइकलमा राखेर थापालगायतले नागार्जुन जंगलमुनिको घरमा लगेका थिए ।
घरमा पुर्‍याएपछि तान्त्रिक भनिएका गुरु भनिने कानु पहरीले थापालाई मानव खप्पर र हड्डी खरिद गर्न पठाएका थिए । थापाले पशुपतिबाट मानव खप्पर र हड्डी खरिद गरेर ल्याएका थिए । तान्त्रिकले भनेअनुसार उनी र रसितालाई एउटा कोठामा सात दिनसम्म थुनेर विशेष पूजा गराइएको थियो । सुरुको सात दिन एउटै कोठामा राखिएकी रसिता रजस्वला भएपछि उनलाई पुनः छुट्टै कोठामा राखिएको थियो ।
पाँचौं दिनको दिन पुनः विशेष पूजामा थापा, उनका सहयोगी ओमकार शाह, यामबहादुर रोक्का, छत्रबहादुर राई, हरिबहादुर पुनमगर, उदिमबहादुर पुन र भीमबहादुर भुजेल सक्रिय रहे । सुरुमा कालो बोकालाई बलि दिएपछि मात्रै देवीलाई खुसी पार्न रसितालाई बलि दिने कुरा तान्त्रिकले बताएपछि थापाले कालो बोकासमेत खरिद गरेर ल्याएका थिए ।
रसिताले विस्तारै आफूलाई बलि दिन लागेको थाहा पाएपछि भाग्ने अवसर खोजिरहेकी थिइन् । कालो बोका बलि दिएपछि १७औं दिन उनी पिसाब लाग्यो भन्दै पूजा गरिरहेको ठाउँबाट उठेर बाहिरिइन् । त्यहाँबाट भागेर रसिता सुरुमा जिल्ला प्रहरी कार्यालय धादिङको सम्पर्कमा पुगेकी थिइन् । तत्कालीन समयमा धादिङ प्रहरी प्रमुख डीएसपी सबिन प्रधानले रसितालाई केन्द्रीय अनुसन्धान ब्युरोको जिम्मा लगाएका थिए ।
ब्युरोको टोलीले रसितालाई अपहरण गरी राखेको घरमा छापा मारेको थियो । सुरुमा शाहलाई प्रहरीले पक्राउ गरेको थियो । शाह रसिताकै ठूलो बुवाको छोरा हुन् । शाहलाई पनि थापाकै समूहले अपहरण गरेर लगेको थियो । पछि पैसा दिने आश्वासन दिएर शाहलाई कसैलाई थाहा नदिन दबाब दिइएको थियो ।
शाहकै बयानका आधारमा प्रहरी रसितालाई लुकाएर राखेको घरमा पुग्यो । प्रहरीले घटनास्थलबाट मानव खप्पर, खुट्टाको नलीहाड, ठूलो देवीको मूर्ति बरामद गरेको थियो । पूजाविधि गरेको प्रहरीले थाहा पाउने आशंकामा तान्त्रिक र थापा लगायतले एक क्विन्टल चामल र अन्य वस्तु माटोमुनि गाडेर राखेको अवस्थामा प्रहरीले फेला पारेको थियो ।
ब्युरोका प्रमुख डीआईजी नवराज सिलवालका अनुसार थापालाई पोखरा लेकसाइडमा लुकेर बसिरहेको अवस्थामा पक्राउ गरिएको हो । उनले प्रहरी बयानमा तान्त्रिकले दिएको अन्धविश्वासमा लागेर आफूले १६ वर्षीया किशोरीको अपहरण गरेको बताएका छन् । ‘राजधानीमै यत्रो ठूलो अन्धविश्वासको घटना फेला पर्‍यो, थापाका अन्य सहयोगी यसअगाडि नै पुर्पक्षका लागि जेल चलान भइसके’, डीआईजी सिलवालले भने ।

Comments