
भाद्र ११, २०७३- झरी रोकिएको थियो र गर्मीचाहिँ बढेको। अब्दुल मियाँको ढाडबाट पसिना झरिरहेको म सजिलै देख्न सक्थेँ। उनी रिक्सा हाँकिरहेका थिए र हामीलाई वनको माझैमाझ गोहीझैं लम्पसार बाटोमा घुमाइरहेका थिए। अब्दुलको पसिना अलिक बढी नै बग्नुको एउटा अर्काे पनि कारण थियो, साँझसम्ममा काम नसिकएला कि भन्ने चिन्ता। ‘छिटो गर्नुहोला हजुर’ हरेक ठाउँमा उत्रिएपछि उनी भन्थे, ‘जानु अन्त पनि धेरै छ, फेरि भ्याइँदैन।’ तर मलाई जति नै हतार भए पनि समय बितेको पत्तो भइरहेको थिएन। म भन्न सक्दिनँ यस्तो किन भयो, लुम्बिनीमा पाइला टेकेकै क्षण एक खालको आनन्दले लपेटिरहेको थियो। अनि म भावातिरेकमा लुम्बिनीलाई २५ सय ६० वर्षअगाडि पुगेर अनुभव गरिरहेको थिएँ। माइती जान भनेर दरबारबाट निस्केकी मायादेवी, उनको साथ पालकीसहितको लावालस्कर, उनलाई बीच बाटोमै लागेको प्रसूति र अनि वृक्षमुनि जन्मिएको एक नवजात शिशु। लुम्बिनी उद्यानमा डुल्दै गर्दा मनको कल्पना पटले त्यो समयको चित्र उतार्न खोजिरहेको थियो। मन एकतमासले स्थिर भएर आयो। लाग्यो, जीवनमा पहिलोपटक म कुनै तीर्थ यात्राको अनुभव गर्दै छु। मन्दिरहरू नगएको होइन, लुम्बिनी नटेकेको पनि होइन, गुम्बाहरू नपुगेको पनि होइन, तर यस्तो भाव भने कहिल्यै पनि आएन। खालि एक खालको शून्य मन लिएर, एक किसिमको नास्तिकताले भरिएर म चैत्य, स्तूपा, मन्दिर र गिर्जाघरहरूमा पुग्थँे। कुनै उमंगबिनाका नीरस समय हुन्थे ती। यसपालिको असारे यात्रामा चाहिँ तथागतको जन्मथलोमा पुग्दा हृदय पूर्णत: भावातीत हुन पुगेको थियो। पशुपतिको जात्रा सिद्राको व्यापार भनेजस्तो जानलाई म आफ्नो पुस्तक ‘निर्वाण’ को परिचर्चामा बुद्धको मावली देवदहबासीको निम्तो मान्न गएको थिएँ। तर अचानक बन्न पुगेको लुम्बिनी घुमघामको मेसोले एक अव्यक्त आनन्दको लाभ हुन गयो। ठ्याक्कै दस वर्ष भएछ, लुम्बिनी नगएको। अघिल्ला भ्रमणहरूमा म मायादेवीको मन्दिर र त्यसको भग्नावशेष मात्र हेरेर फर्किएको थिएँ। तिनताक हेर्नै पर्ने कुनै गतिविधि पनि थिएनन्। यसपटक भने मेरो सम्झनाको लुम्बिनीमा आनका तान बदलाव आएको देखेँ। हेर्ने धेरै कुरा बनिसकेछन् जसको पत्तो मलाई थिएन। ‘यो चीनले बनाइदिएको, यो जापानले, यो फ्रान्सले र योचाहिँ श्रीलंकाले’ अब्दुलले प्राचीन कपिलवस्तुको जंगलका माझमा परपरसम्म फैलिएका नयाँ तर भव्य गुम्बाहरू देखाउँदै भने, ‘सबभन्दा राम्रोचाहिँ जर्मनीले बनाइदिएको छ।’ लुम्बिनी विकास कोषका अनुसार बुद्धको यो जन्मथलोमा ४२ देशले आफूलाई मन परेको ढाँचामा ठूलठूला भवनहरू बनाउँदै छन्। यसमध्ये डेढ दर्जन अझै बन्ने तरखरमा छन्। बुद्धको जीवनमा घटेका सारा घटना र उनको देशना झल्किने सामग्री र चित्रहरू पनि स्तूपाका भित्ताहरूमा बनाइएका छन्। इतिहासको लामो कालखण्ड उपेक्षित र गुमनाम भएर बसेको लुम्बिनी अहिले विश्वकै शान्तिको धरोहर बन्ने क्रममा छ। चीन, जापान, थाइल्याड, श्रीलंका, बर्मा, कम्बोडिया, भियतनामजस्ता बौद्ध देशका मानिस त आउने नै भए, धर्म निरपेक्ष जीवन बिताएका तर ध्यानलाई आनन्द खोज्ने माध्यम बनाएका संसारका सबै कुनाकाप्चाका दर्शनाभिलाषीहरू पनि यहाँ बडो श्रद्धाले आइपुग्छन्। तीर्थस्थल भनेको संसारको लाभहानिभन्दा पर परम यात्राको झिल्को दिने ठाउँ हुन्। त्यसैले यसलाई यति श्रद्धाले लिने गरिएको हुँदो हो। जनावर र मनुष्यका धेरै भेदमध्ये ठाउँ विशेषलाई श्रद्धाले हेर्न सक्ने खुबी पनि हो सायद। भोजन, जल, आश्रयजस्ता जहाँ जीवनलाई अनुकूल हुने वातावरण हुन्छ जनावरका लागि ती ठाउँ नै प्रिय हुन्छन्। तर मानिसका लागि मनलाई जहाँ शान्ति मिल्छ, त्यही ठाउँ प्यारो हो। अनि मनभन्दा परको तर्कातीत संसारको सम्झना गराउने जुन ठाउँ छन् ती नै तीर्थस्थल हुन्। तनाव, अनिद्रा र दु:खले ग्रस्त अहिलेको मनुष्यका लागि बुद्ध र उनले देखाएको मार्ग ठूलो भरोसाको केन्द्र हो। माइन्डफुलनेस होस् कि भिजुएलाइजेसन होस् आधुनिक मनोविज्ञानले विकास गरेको जति पनि प्रभावकारी थेरापीहरू छन् ती सब बुद्धले अपनाएका ध्यान पद्धति र उनले दिएका देशनाहरूमा आधारित छन्। जीवनको सारा पहलुलाई बुद्धले चार चरणमा बडा सरल ढंगले बुझाए। जीवनमा दु:ख छ, दु:खको कारण छ, दु:खबाट छुट्कारा पाउने उपाय छ र दु:खभन्दा परको अवस्था पनि छ भन्ने उनको चतुरार्य सत्यभित्र ज्ञानका विसद शाखा प्रशाखा पुष्पित पल्लवित छन्। वडा अध्यक्ष हुनका लागि पनि टाउको फोराफोर गर्ने वृत्तिले संसार भरिएका बेला भएको राज्य नै त्यागेर ज्ञानको खोजीमा लाग्ने बुद्ध झट्ट सम्झँदा अपत्यारिलो लाग्न सक्छन्। पुराणमा मात्रै सुहाउने यो महान् जीवन कुनै समय धर्तीमा अवतरित थियो र यो सत्य नै हो भन्ने सम्झाउने एउटै प्रस्ट प्रमाण भनेको उनको जन्मथलो र यसको ऐतिहासिकता नै हो। लुम्बिनी घुम्दै गर्दा मलाई मनमा यस्तो भाव आयो। मायादेवीको भग्न अवशेष, दुई सय वर्षपछि मौर्य सम्राट् अशोकले ठड्याएको शिलालेख र मायादेवीको बगैंचाले बुद्धत्व मनुस्यत्वकै विकसित रूप हो र यो हुन सक्छ भन्ने तथ्यलाई स्विकार्न बल दिन्छन्। त्यसैले पनि लुम्बिनीको महत्त्व ज्यादा छ। यद्धबाट विरक्तिएका सम्राट् अशोकले बुद्धको देशना नपाएका भए नजाने अझै कति हत्या गर्थे, सायद आफैं पनि आत्महत्या गर्थे। तर जीवनमा जहिले पनि रूपान्तरण सम्भव छ, दु:खबाट मुक्ति सम्भव छ र परम आनन्दको अवस्था साक्षात्कार गर्न सम्भव छ भन्ने चेत अशोकले लुम्बिनीमा पाइला टेक्नेबित्तिकै पाइहाले। हामीमाझ भौतिक रूपमा बुद्ध नभए पनि बुद्धका पाइला परेको माटो छ, उनले सास फेरेको आकाश छ, उनले देखाएको गेरेटो छ। यी सबैलाई बढी होस पूर्ण र बोधगम्य बनाउन तीर्थ स्थलले प्रत्यक्ष परोक्ष मद्दत गर्छ। त्यसैले त राष्ट्रसंघले यसलाई विश्वकै शान्ति नगर बनाउने औपचारिक घोषणा गरेको होला। बुद्ध दर्शनका तीन शाखा छन्, हिनयान, प्रत्येक बुद्धयान र महायान। योमध्ये प्रत्येक बुद्धयान अहिले प्रचलनमा छैन। महायानमा सुत्र यान र तन्त्र यान गरी दुई प्रशाखा छन्। तन्त्रयानको प्रचलित नाम बज्र यान हो। श्रीलंका, थाइल्यान्ड, बर्मा, लाओसलगायतका देश हिनयानी हुन्। तिब्बत र नेपालको नेवार सम्पदाय बज्रयानी हुन् भने चीन, जापान, कोरियालगायतका देश सुत्रयानी सम्प्रदायका महायानी हुन्। जेन बुद्धिजम यसैको एउटा हाँगो हो। युरोप अमेरिकामा आगोझैं फैलिएको बौद्ध दर्शनको प्रयोग र सिद्धान्त हेर्दा कालान्तरमा आफ्नै केही विशेषतासहितको पश्चिमा बुद्धिजम बनेर विकास हुने छाँट प्रशस्त देखा परिसकेको छ। जस्तो अहिले नै ‘क्रिस्चियन बुद्धिजम’ को हावाले पश्चिममा धेरैको फोक्सो भरिसकेको छ। धर्मको रौंचिरा विभेद र कट्टरतालाई बिर्सेर सम्भव छ भोलिको मनुष्यत्वले मुस्लिम बुद्धिजम, जैन बुद्धिजम वा यहुदी बुद्धिजमको फरक पाटो पनि देख्नेछ। आफ्नै परिवेश र खानपान नबदलीकनै, गेरु वस्त्र नलगईकनै र भिक्षु जीवन नअँगालीकनै जीवनलाई दु:खबाट मुक्ति दिने बुद्धको ध्यान पद्धति र विचारलाई अवलम्बन गर्दा यस्ता सांस्कृतिक भेदहरू प्रशस्त आउनु स्वाभाविक पनि हो। यसरी लुम्बिनीमा जन्मिएका सिद्धार्थ गौतम बुद्ध बनेर संसारैभर फैलिँदा छन्। उनको दर्शन जतिजति बुझ्दै गयो उतिउति जीवनमा एक लयको प्रादुर्भाव हुन्छ्, संसार झनै सुन्दर लाग्छ र आनन्द बढी नै अनुभवमा आउँछ। यसै कारण होला बुद्धको जन्मथलोलाई चिरिच्याट्ट पारेर सिगार्न संसारैभरिका मानिस दिलोज्यान दिएर लागेका। करिब आठ वर्गकिलोमिटरमा फैलिएको लुम्बिनीको मध्यमा चैत्य र गुम्बाहरूको भाग छ जहाँ लुम्बिनीको विश्व शान्ति सहरमा सामेल हरेक देशले आआफ्नो संस्कृतिलाई समेत मिसाएर गुम्बाहरू बनाएका छन् जसलाई लुम्बिनी विकास कोषले ‘मोनास्टिक जोन’ भनेर नाम दिएको छ। त्यसपछिको अर्काे खण्डमा मायादेवीको बगैंचालाई उस्तै मोहकताका साथ बनाउने परिकल्पना गरिएको छ। अनि अन्तिम खण्डमा बुद्ध जन्मिएको ठाउँ र मायादेवी मन्दिरको भव्य विकास गर्ने योजना पनि छ। यी तीन खण्डलाई जोड्ने गरी बनाइँदै गरेको मानव निर्मित नहर र त्यसको दुई किनारामा बिच्छ्याइएका कलात्मक इँटाका बाटो हेर्दा अहिले नै भव्य देखिन्छ। पछि यो बनेपछि संसारभरका पर्यंटकलाई तान्ने कारण पक्कै हुनेछ। यो लामो कृतिम नहर र त्यसमा बगिरहेको पानीमा ती चिटिक्क परेका भवनका छायाँ विछट्टै राम्रा देखिँदारहेछन्। संसारकै प्रमुख तीर्थस्थल बन्ने गरी विकास हुन लागेको लुम्बिनीको यो अवस्था नेपालकै चासोका कारणभन्दा पनि बुद्धलाई श्रद्धा गर्नेहरूको पहलका कारण सम्भव हुन पुगेको हो भन्दा कताकता दु:ख पनि लाग्छ। राष्ट्रसंघको महासचिव भएका बखत बर्मेली मूलका बौद्धमार्गी उ थान्तले सन् १९६७ मा लुम्बिनी भ्रमण गरेपछि बुद्धको जन्मथलोले एकाएक अन्तर्राष्ट्रिय एक्स्पोजर पायो। त्यसको एघार वर्षपछि हिरोसिमा पिस मेमोरियल समेत बनाएका, पाँचै महादेशमा आफ्नो अनुपम कलाकृति पुर्याएका बीसौं शताब्दीका प्रख्यात आर्किटेक्ट जापानका केन्जो टागेले पाँच अर्ब असी करोडको योजना पेस गरेका थिए। यो नै लुम्बिनीको पहिलो गुरुयोजना थियो। तर दु:खको कुरा के भने दस वर्षमा सक्ने भनिएको यो गुरुयोजना हालसम्म पनि फत्ते भएको छैन। लुम्बिनी विकास कोषले टाँगेको आयोजनाअनुसारको काम ६५ प्रतिशत मात्र पूरा भएको र बाँकी कामका लागि आवश्यक पैसा अनि जनशक्ति नै नभएको तथ्य पटकपटक सार्वजनिक गरिसकेको छ। यो वर्ष भएको अन्तर्राष्ट्रिय बौद्ध सम्मेलनको छेका पारी पूर्वप्रधानमन्त्री केपी ओलीले अब ‘जसरी पनि’ लुम्बिनी विकासको गुरुयोजना पूरा गर्न कर्मचारीलाई निर्देशन दिएका थिए। तर निर्देशन दिएर मात्र हुँदो रहेनछ, काम भने कछुवाकै गतिमा अघि बढिरहेको छ। असिनपसिन हुँदै हामीलाई यी बन्दै गरेका स्तूपा र चैत्यमा घुमाइरहेका अब्दुलले थपे, ‘म सानो हुँदा नै यस्तो भवनहरू बन्ने हल्ला थियो, बनिरहेको छ तर सकिएको छैन भन्छ। म नमर्दै सबै बनिसक्छ कि सक्दैन होला कुन्नि †’ टाँगेको योजनालाई अझै परिमार्जन गर्दै कोरियाली प्रोफेसर क्वाक युङ हुनको नेतृत्वमा त्यहाँको आर्किटेक्टहरूको एक समूहले पन्ध्र वर्षमा सक्ने गरी ७६ अर्ब रुपैयाँ बराबरको ‘लुम्बिनी विश्व शान्ति सहर संरक्षण तथा विकास गुरुयोजना’ पेस गरेको थियो केही वर्षअघि। यो सन् २०१५ बाट सुरु भएको पनि छ जसको प्रत्यक्ष रेखदेख कोरिया इन्टरनेसनल कर्पाेरेसन एजेन्सी (कोइका) ले गर्दै छ। टागेको योजनालाई नै यसले अझ विस्तृत रुपमा फैलाउने गरी विकासका काम अघि बढाउनेछ। आउने पाँच वर्षमा लुम्बिनी सेरोफेरोमा २० करोड डलर बराबरको बाटो बन्नेछ। लुम्बिनी आसपासका बस्तीहरूमा विकासको काम पनि गर्ने कोइकाको योजनामै समावेश छ। संसारभरि नै बुद्धको जन्मथलोलाई चिनाउने र मानुस्य मात्रको साझा भ्रमणस्थल बनाउने कोरियाली योजनालाई भनेजस्तै पन्ध्रै वर्षमा पूरा हुन सक्यो भने लुम्बिनी संसारकै ठूलो तीर्थस्थल हुनेछ। यसरी द्रुत गतिमा काँचुली फेर्न लागेको लुम्बिनी स्न १८९५ सम्मचाहिँ गुमनामजस्तै थियो। पुरातत्त्व विभागका अनुसार पाल्पाका तत्कालीन बडाहाकिम खड्गशमशेर जबराले तिलौराकोटमा कपिलवस्तु दरबारको भग्नावशेष पत्ता लगाए। त्यसका चार वर्षपछि सन् १८९९ पुरातत्त्वविद् पीसी मुखर्जीले उत्खनन् गरेरै यसको एैतिहासिकताको प्रमाणकिता पेस गरे। त्यसपछि बिस्तारै मानिसहरूको चासो खिच्दै गएको लुम्बिनीले आउने दिनहरूमा अझै बढी ध्यान तान्ने संकेतहरू बढ्दै गएका छन्। त्यो अझै बढोस्।
Comments
Post a Comment