युरोपसम्म छोर्देन र शिलालेख

आश्विन ३, २०७३- पन्ध्र वर्षअघि काठमाडौं छिर्दा उनीसँग न हातमा सीप थियो, न त सावाँ अक्षरभन्दा बढी पढाइ नै । सिन्धुपाल्चोक, तालामाराङका उदयबहादुर तामाङले यो अवधिमा बनाएको ‘नामकाम’ भने लोभलाग्दो छ । उनका सिर्जना यतिबेला युरोपका थुप्रै मुलुकहरूमा फैलिएका छन् । गरिबीको चपेटाले प्राथमिक तहभन्दा माथि विद्यालय पढ्नै नपाएको झोंकमा कामको खोजीमा घर छाडेर हिँडेका थिए उदय । गाउँले आफन्तजनको बसोबास रहेको स्वयम्भू क्षेत्रमा पुगेर टोलाइरहेका बेलामा उदयले पहिलोपटक ढुंगाको कालिगढी काम गरिरहेका युवायुवती देखेका थिए । ‘ढुंगाको एउटा टुक्रामा कति मिहिन कला र चित्र उतारिरहेको देखेर अचम्मै लागेको थियो,’ ठमेलको छेवैमा हस्तकलाका काममा रमाइरहेका उदयले सुनाए, ‘मैले त्यो कलाकौशलको काम केही दिन र हप्तासम्म लगातार हेरेरै सिकेको थिएँ ।’
ढुंगा र स्लेटमा भगवानका मूर्ति उतार्ने, शिलालेख खोप्ने, छोर्देन र बुद्धिस्ट मन्त्र कुँद्ने काम गरेरै कलाशिल्पी बन्न खप्पिस भएका ३३ वर्षीय उदयको ज्याँठा नजिकै आफ्नै काम गर्ने थातथलो पनि छ– अन्नपूर्ण हेन्डिक्राफ्ट । ‘पहिला ठमेलका सडकहरूमा खाटमा बसेर आफ्नो सीप देखाउँथे, अहिले भने यही सीप व्यावसायिक बन्ने क्रममा छ,’ उनले भने, ‘आफ्नै गाउँका चिनारु १०/१२ श्रमजीवीलाई ढुंगाको काम सिकाएर कलाकौशलमा रमाउने हैसियतमा पुगेको छु ।’
आफ्नै सोख र सिकाइले हस्तकलामा निपूर्ण बनेका उदयका सिर्जना आज युरोपका स्विट्जरल्यान्ड, नेदरल्यान्ड, फ्रान्स, इटाली र जर्मनीसम्म पुगिसकेका छन् । ‘फ्रान्सको मार्सेली भन्ने ठाउँमा आगामी सातादेखि हुन लागेको अन्तर्राष्ट्रिय कला प्रदर्शनीमा पनि सहभागी हुन जाँदै छु,’ उदयले सुनाए, ‘त्यहाँ नेपाल देशको स्टल रहने र त्यहाँ शिलालेख, छोर्देन वा बौद्धमन्त्रका शिल्पी ढुंगामा खोपेर युरोपेली आगन्तुकका लागि नेपालीको कलाशिल्पी देखाउने मौका मिल्दै छ ।’ १० दिनसम्म चल्ने प्रदर्शनीमा नेपाली स्टल राख्नैका लागि उदयले ३ हजार युरो तिरेका रहेछन् । मार्सेली भन्ने ठाउँ फ्रान्सको राजधानी पेरिसदेखि ६ घण्टाको ट्रेन यात्रामा पर्छ ।
उदयका अनुसार ढुंगाको कलात्मक काम गर्न अथवा शिलालेखमा खेल्न यो क्षेत्रमा लागेका जोकोहीलाई प्रशासनयन्त्र तथा सिंगो पद्धतिले कठिन बनाइदिएको छ । बन्दीपुर, धादिङ आदि ठाउँबाट नियमानुसार ढुंगा वा स्लेट खरिद गरी ल्याउनै पनि प्रहरी–प्रशासनको सास्ती बेहोर्नुपर्ने हुन्छ । ‘विशेषत: बौद्धमार्गी समुदायका लागि बुद्ध इतिहासमा जोडिएर ढुंगामा अभिलेख राख्ने काम मैले गरिरहेको छु भनेर बुझाउनै मुस्किल हुन्छ,’ उदय भन्छन्, ‘बरु युरोपेलीले बुझिसके, हामी आफैंले बुझेका छैनौं ।’ आज युरोपेली मुलुकहरूमा नेपाली कला–शिल्पीको चिनारी बाँड्ने हैसियत बनाइसक्दा पनि ढुंगा/स्लेटको काम गर्ने जोकोही जाँतो/सिलौटो बनाउने हुन् झैं गरिराखेको अवस्था उदयका लागि सबैभन्दा चित्त बिझाउने क्षण हो । उनले सानातिना मूर्ति र ऐतिहासिक महत्त्वका शिलालेखबाहेक स्वयम्भू आडमा ५२ फिट लामो बुद्ध इतिहास झल्कने मूर्ति पनि बनाएका छन् । तर, ‘घरेलु तथा साना उद्योग वा ललितकला एकेडेमी कसैले पनि यो शिल्पीको काम गर्ने हामीलाई कला सर्जकका रूपमा गनेको छैन,’ उनी भन्छन्, ‘हामीलाई धेरैले ढुंगा/स्लेटका व्यापारी पो भन्ठानिएको छ । यसमा धेरै दु:ख लाग्छ ।’


Comments